बैंकबाट ऋण निकालेर बनाएको ‘गाईगोठ’ बन्यो एक करोडको ‘गाईफार्म’, मासिक तीन लाख ५० हजार आम्दानी

बैंकबाट ऋण निकालेर बनाएको ‘गाईगोठ’ बन्यो एक करोडको ‘गाईफार्म’, मासिक तीन लाख ५० हजार आम्दानी

इलाम : इलामको सूर्योदय नगरपालिका-३ रुङसुङका गोपाल आचार्यले गाउँमै बसेर गाईपालनबाट मासिक तीन लाख ५० हजार रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन्।

परम्परागत रूपमा लिइने गाईपालनलाई आचार्यले आधुनिक र व्यावसायिक रुपमा अगाडि बढाएका छन्। उनले सञ्चालन गरेको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि २०० लिटर दूध उत्पादन भइरहेको छ, जसको प्रतिलिटर ६० रुपैयाँका दरले नजिकैको पञ्चामृत डेरी उद्योगमा बिक्री हुने गर्दछ। यसरी मात्रै उनको मासिक आम्दानी दुई लाख ८८ हजारदेखि तीन लाख ६० हजार रुपैयाँसम्म पुगेको छ।

वि.सं. २०७० मा राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख रुपैयाँ कर्जा लिएर सुरू गरेको व्यवसाय अहिले एक करोड रुपैयाँ मूल्य बराबरको फार्ममा रुपान्तरण भएको छ। अहिले फार्ममा ३४ वटा माउगाई छन्, जसमा १२ वटा दूहुन र बाँकी ब्याउने अवस्थामा छन्। बाच्छाबाच्छीका लागि छुट्टै गोठ बनाइएको छ।

‘सुरुमा त अनुभव नै थिएन, दूध बेचेर सानो आम्दानी होला भन्ने सोचेको थिएँ’, आचार्य सम्झन्छन्, ‘तर विस्तारै अनुभव बटुलेँ, सम्भावना देखेँ र आत्मबल बढाउँदै व्यवसाय फस्टाउँदै लगेँ।’

उनले फार्मबाट भएको आम्दानी व्यवसायमै पुनः लगानी गर्दै आएका छन्। दूध ढुवानीका लागि पिकअप गाडी किनेर बिहान डेरीमा दूध पुर्याउने र दिउँसो गाईको लागि दाना-पानी ओसार्ने काम पनि उनले सोही गाडीमार्फत गर्दै आएका छन्। 

फार्ममा आचार्यको परिवारको साथमा तीन जनाले रोजगारी पाएका छन्- दुईजना फार्मका लागि र एकजना ड्राइभरका रूपमा। ‘तीनैजनाको तलबमा मात्रै मासिक ४२ हजार पर्छ’, उनले सुनाए। 

गाईलाई घाँसको आपूर्ति सुनिश्चित गर्न आचार्यले ७० रोपनी आफ्नै जमिन र १३० रोपनी भाडामा लिएर कुल २०० रोपनीमा घाँसखेती पनि विस्तार गरेका छन्। सुपरनेपियर, अम्रिसो, डाले घाँस र स्थानीय जातका भुइँघाँस लगाइएको छ।

गाईको गोबरबाट तयार मल स्थानीय चिया सहकारी र किसानलाई बिक्री गरेर उनले वार्षिक एक लाख रुपैयाँसम्म अतिरिक्त आम्दानी गर्दै आएका छन्।

सरकारी तहबाट पनि आंशिक सहयोग पाएका आचार्यलाई कोशी प्रदेश सरकारले दूध दूहुने मेसिन खरिदका लागि २ लाख ५० हजार र सूर्योदय नगरपालिकाले भकारो सुधारका लागि २० हजार रुपैयाँ अनुदान दिएको छ।

तर, सफल व्यवसायीकका रूपमा उभिए पनि उनले केही दुःखद अनुभव पनि सँगालेका छन्। लम्पी स्किन रोगका कारण १४ वटा गाई गुमाएका आचार्यले बिमाबाट जम्मा ४० हजार रुपैयाँ क्षतिपूर्ति पाएको उल्लेख गर्दै थप सरकारी राहत नपाएको गुनासो गरे।

‘बिमाबापत केही पैसा त पाएँ, तर त्यति धेरै गाई मरेपछि अरू कुनै राहत नपाउनु दुःखद हो’, उनले भने, ‘यस्तो पीडा आउँदा पनि हिम्मत हारिनँ, अझ गाई थपेर विस्तार गर्ने योजनामा छु।’

गाईपालनमार्फत गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने देखाएका आचार्य भन्छन्, ‘पैसा कमाउन विदेश जानु पर्दैन, सीप छ भने स्वदेशमै स्वरोजगार बन्न सकिन्छ। बेरोजगार युवालाई गाउँमै व्यावसायिक अवसरको बाटो देखाउन मैले यो बाटो रोजेको हुँ।’

साउन २२, २०८२ बिहीबार १७:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।