महिन्द्राद्वारा नेपाली बजारमा एक्सयुभी थ्रीएक्सओ सार्वजनिक, मूल्य ४५ लाखदेखि सुरू

काठमाडौं : महिन्द्रा एन्ड महिन्द्राले नाइमा नेपाल मोबिलिटी एक्सपोको अवसरमा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एक्सयुभी थ्रीएक्सओ नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र विश्वस्तरीय सुरक्षाको संयोजन रहेको यो गाडीले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ।
नेपालमा एक्सयुभी थ्रीएक्सओ पाँचवटा पेट्रोल भेरियन्टमा उपलब्ध छ, जसको सुरुवाती मूल्य ४४ लाख ९० हजार रुपैयाँ तोकिएको छ। सबै भेरियन्टका लागि बुकिङ खुला गरिएको छ र नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत नाइमा एक्सपोबाटै डेलिभरी सुरू गरिनेछ।
कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोलकरले भने, ‘हामी नेपालमा एक्सयुभी थ्रीएक्सओ सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित छौँ। यसको आकर्षक डिजाइन, प्रिमियम सुविधा र उच्च सुरक्षाले आधुनिक ग्राहकका आकांक्षाहरूलाई पूरा गर्छ। नेपाल हाम्रो लागि महत्वपूर्ण बजार हो र एक्सयुभी थ्रीएक्सओ ले आफ्नो सेग्मेन्टमा डिजाइन, गुणस्तर र मूल्य सबै पक्षमा नयाँ मापदण्ड कायम गर्नेमा हामी विश्वस्त छौँ।’
त्यसैगरी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, ‘नेपाली ग्राहकका लागि एक्सयुभी थ्रीएक्सओ सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौँ। यो यस्तो एसयुभी हो, जसले डिजाइनमा सम्झौता नगरी उच्च सुरक्षा मापदण्ड कायम गरेको छ र यो सुविधाहरूले भरिपूर्ण छ। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र उचित मूल्य खोज्ने नेपाली उपभोक्ताको रुचि परिष्कृत हुँदै गएको छ र एक्सयुभी थ्रीएक्सओ ले यी सबै अपेक्षाहरू पूरा गर्छ। यो नयाँ पुस्ताका खरिदकर्ताको मुख्य आकर्षण बन्नेमा हामी विश्वस्त छौँ।’
एक्सयुभी थ्रीएक्सओमा स्पोर्टी र बोल्ड डिजाइनका साथै एथलेटिक बनोट रहेको छ। यसको अगाडिको ग्रिल, विशिष्ट हेडलाइट डिजाइन, पछाडि जोडिएको इन्फिनिटी एलईडी टेलल्याम्प, प्रिमियम लेदरेट सिट र पानोरेमिक स्काइरुफले यसलाई थप आकर्षक बनाएको छ।
यसको इन्टेरियरमा १०.२५ इन्चको डुअल हाइ-रिजोलुसन स्क्रिन, हार्मन कार्डनको अडियो सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र ६५ वाटको युएसबी-सी फास्ट चार्जर जस्ता सुविधा छन्।
गाडीमा १.२ लिटर टर्बो-पेट्रोल एम-स्टालियन इन्जिन जडित छ, जसले ८२ किलोवाट पावर र २०० न्युटनमिटर टर्क उत्पन्न गर्छ। यसले तीव्र गति र उत्कृष्ट माइलेज प्रदान गर्दछ। यो ६-स्पिड म्यानुअल र ६-स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध छ। 'जिप, ज्याप, जुम' जस्ता ड्राइभिङ मोडले हरेक भू-भागमा आरामदायी यात्रा सुनिश्चित गर्छ।
सुरक्षालाई उच्च प्राथमिकता दिइएको एक्सयुभी थ्रीएक्सओ का सबै भेरियन्टमा ६ वटा एयरब्याग र ईएसपी (इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम) स्ट्यान्डर्डका रूपमा दिइएको छ। साथै, लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ब्लाइन्ड भ्यु मनिटर र ३६०-डिग्री सराउन्ड भ्यु क्यामेरा जस्ता अत्याधुनिक सुरक्षा सुविधा पनि उपलब्ध छन्।
साउन २२, २०८२ बिहीबार १३:५९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।