नेपाल टी-२० लिगमा खेलाडीको ६५ लाख रुपैयाँ पारिश्रमिक नदिइएको मजगैंयाको स्वीकारोक्ति

नेपाल टी-२० लिगमा खेलाडीको ६५ लाख रुपैयाँ पारिश्रमिक नदिइएको मजगैंयाको स्वीकारोक्ति

काठमाडौं : तीन वर्षअघि सम्पन्न नेपाल टी-२० लिगको विवाद फेरि सतहमा आएको छ। नेपाल क्रिकेट संघ (क्यान)का बोर्ड सदस्य प्रदीप मजगैंयाले राष्ट्रिय क्रिकेटर करण केसीको दाबीलाई स्वीकार गर्दै लिगका खेलाडीले अझै पैसा पाउन बाँकी रहेको बताएका छन्।

यसअघि मजगैंयाले लिगबाट क्यानलाई २ करोड नाफा भएको र सबै विवाद समाधान भइसकेको दाबी गरेका थिए। उनको यही दाबीलाई करण केसीले सामाजिक सञ्जालमार्फत प्रतिवाद गरेपछि मजगैंया आफ्नो भनाइ सच्याउन बाध्य भएका हुन्।

मजगैंयाले सामाजिक सञ्जालमा लेख्दै काठमाडौं नाइट्सका खेलाडीलाई २५ प्रतिशत र सुदूरपश्चिम टिमका खेलाडीलाई ३५ प्रतिशत रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेका छन्।

खेलाडीहरूलाई तिर्नुपर्ने कुल रकम करिब ६५ लाख रुपैयाँ भएको बताउँदै उनले उक्त रकम लिगबाट भएको २ करोड ३० लाख नाफाबाट तुरुन्तै दिनुपर्नेमा जोड दिए।

यद्यपि, मजगैंयाले आफूलाई यो विवादमा जबरजस्ती तानिएको आरोप लगाए।

लिग आयोजना हुँदा आफू क्यान बोर्डमा नरहेको बताउँदै उनले भने, ‘खेलाडीहरूलाई प्रायोजित रूपमा प्रयोग गरी मेरो फोटो समेत प्रयोग गरी मलाई यो विषयमा अनावश्यक रूपले ल्याउनु गम्भीर र आपत्तिजनक छ।’

राष्ट्रिय क्रिकेट टीमका करण केसी, भिम सार्की, कमलसिंह ऐरी लगायतका खेलाडीले प्रदीप मजगैयाँको भिडियो सेयर गर्दै पारिश्रमिक नपाएको गुनासो गरेका थिए।

खेलाडीलाई पैसा दिने निर्णय क्यानको पोखरा साधारण सभा र बोर्ड बैठकले पहिल्यै गरिसकेको मजगैंयाले खुलासा गर्दै उनले प्रश्न गरेका छन्, ‘बोर्डले र हाम्रो सर्वोच्च निकाय एजीएमले पास गरेको निर्णय किन कार्यान्वयन भएन ? खेलाडीको हकको पैसा कहाँ र कसरी अड्किएको छ?’

उनले आफू सधैँ खेलाडीको न्यायका लागि लड्ने व्यक्ति भएको बताउँदै संस्था विधि र विधानमा चल्नुपर्नेमा जोड दिए र तत्काल निर्णय कार्यान्वयनको माग गरेका छन्।

साउन २२, २०८२ बिहीबार १३:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।