फक्सवागनका शक्तिशाली भर्टस र टाइगुन नेपाली बजारमा सार्वजनिक

काठमाडौं : फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले नाडा अटो शोमा दुई नयाँ शक्तिशाली मोडल, भर्टस सेडान र टाइगुन एसयूभी सार्वजनिक गरेको छ।
जर्मन राजदूत उदो भोल्जले अनावरण गरेका यी दुवै गाडीहरू १.५ लिटरको शक्तिशाली टर्बो-इन्जिनसहित बजारमा आएका हुन्।
कम्पनीका अनुसार यी दुवै मोडलले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा ५-तारे रेटिङ पाएका छन्, जसले उत्कृष्ट सुरक्षाको सुनिश्चितता गर्दछ। १५०० सीसी क्षमताको इन्जिनले १५० हर्सपावर शक्ति उत्पादन गर्छ।
पावरको आवश्यकताअनुसार दुई वा चार सिलिन्डरमा चल्ने ‘एक्टिभ सिलिन्डर टेक्नोलोजी’ले गर्दा यी गाडीहरू शक्तिशाली हुनुका साथै इन्धन किफायती पनि छन्। ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल र हिल होल्ड कन्ट्रोल जस्ता सुरक्षा सुविधा दुवै गाडीमा उपलब्ध छन्।
फक्सवागन भर्टस: यो सेडान गाडी भएता पनि यसमा १८० मि.मि. को उच्च ग्राउण्ड क्लियरेन्स छ, जुन नेपाली बजारका धेरै एसयूभीभन्दा बढी हो। यसले गर्दा यो गाडी शहरी तथा ग्रामीण दुवै सडकका लागि उपयुक्त भएको कम्पनीको दाबी छ।
फक्सवागन टाइगुन: यो एसयूभी १८८ मीमीको ग्राउण्ड क्लियरेन्स र ७-स्पीड गियरबक्सका साथ आएको छ, जुन विशेषगरी नेपाली सडक सुहाउँदो भएको कम्पनी बताउँछ।
कार्यक्रममा उत्पादकका प्रतिनिधि सेल्जी जोसेफले भारतको बाटो र पेट्रोलको गुणस्तरलाई ध्यानमा राखेर बनाइएकाले यी मोडल नेपालका लागि उपयुक्त भएको बताए। उनले पार्टपुर्जाको मूल्य प्रतिस्पर्धी हुँदा मर्मत खर्च कम हुने विश्वास दिलाए।
पूजा इन्टरनेसनलका सीईओ विवेक बिजुक्छेले यी मोडलमार्फत नेपाली बजारमा जर्मन इन्जिनियरिङको उत्कृष्टता प्रदर्शन गर्ने लक्ष्य रहेको बताए।
साउन २२, २०८२ बिहीबार १०:४६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।