अमेरिकी भिसाका लागि १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकी भिसाका लागि १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

एजेन्सी : अमेरिकाले केही देशका नागरिकलाई भिसा जारी गर्दा १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने नयाँ नियम ल्याएको छ।

पहिलो चरणमा यो नियम अफ्रिकी मुलुक मलावी र जाम्बियाका नागरिकमाथि लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। टूरिस्ट वा बिजनेस भिसाका लागि आवेदन दिने नागरिकहरू यो नियमबाट प्रभावित हुनेछन्।

विदेश मन्त्रालयका अनुसार, यो नमुना कार्यक्रम हो र यसको मुख्य उद्देश्य भिसाको अवधि सकिएपछि पनि अमेरिकामा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो। यो नियम हाल १२ महिनाका लागि परीक्षणका रूपमा लागू गरिएको छ।

यो नियम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासन रोक्न लिएका विभिन्न कदमहरूको एक हिस्सा हो।

विदेश मन्त्रालयको तथ्याङ्कअनुसार, भिसा अवधिभन्दा बढी बस्ने नागरिकको दर उच्च रहेका देशहरूलाई लक्षित गरिएको देखिन्छ। जस्तै, जाम्बियाका करिब ११ प्रतिशत नागरिकले भिसा अवधिभन्दा बढी समय अमेरिकामा बिताउने गरेका छन्।

यो सूचीमा अन्य देशहरू पनि छन्- हेइटी (३१ प्रतिशत), म्यान्मार (२७ प्रतिशत) र यमन (२० प्रतिशत)।

भविष्यमा यस्ता अन्य देशका नागरिकका लागि पनि धरौटीको व्यवस्था लागू हुन सक्ने संकेत दिइएको छ।

अधिकारीहरूले तोकिएको समयमा अमेरिका छाड्ने यात्रुको धरौटी रकम फिर्ता गरिने स्पष्ट पारेका छन्। साथै, भिसा आवेदनका क्रममा आवश्यक कागजात अपुग भएमा पनि धरौटी माग गर्न सकिने व्यवस्था गरिएको छ।

साउन २२, २०८२ बिहीबार ०९:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।