सहकर्मीलाई अश्लील तस्बिर पठाएको र चेन्जिङ रुममा चुम्बन गरेका पूर्व काउन्टी क्रिकेट प्रशिक्षक निलम्बित

काठमाडौं : दुई कनिष्ठ महिला सहकर्मीलाई अश्लील तस्बिर पठाउने लगायतका यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि एक पूर्व काउन्टी क्रिकेट प्रशिक्षकलाई नौ महिनाको लागि निलम्बन गरिएको छ।
उनको स्वास्थ्य अवस्था र गम्भीर क्षतिको जोखिमका कारण उनको नाम भने गोप्य राखिएको छ।
स्वतन्त्र क्रिकेट अनुशासन प्यानल (सीडीपी)ले सन् २०२३ र २०२४ मा भएका घटनाहरूमा व्यावसायिक आचरण नियमावलीको पाँचवटा उल्लंघन स्वीकार गरेपछि यो सजाय सुनाएको हो। यी घटनाहरूमा क्लबको चेन्जिङ रुममा एक पीडितलाई चुम्बन गर्ने प्रयास समेत समावेश थियो।
बुधबार आफ्नो अनुशासनात्मक न्यायाधिकरणको प्रतिवेदन प्रकाशित गर्दा, सीडीपीले ‘ती प्रशिक्षकको स्वास्थ्य र गम्भीर क्षतिको जोखिम सम्बन्धी असाधारण परिस्थितिहरू’लाई कारण देखाउँदै उनको नाम गोप्य राखेको हो।
सीडीपीले प्रशिक्षकलाई क्रिकेटमा नौ महिनाको प्रतिबन्ध लगाएको छ। उनले जिम्मेवारी स्वीकार गरेको, पश्चाताप देखाएको र प्रभावकारी सुधारात्मक शिक्षा लिएकाले सजायको छ महिना आरोप लागेको मितिदेखि नै लागू गरिएको छ भने बाँकी तीन महिना १२ महिनाको अवधिका लागि निलम्बित गरिएको छ।
सीडीपीका अनुसार, उनले बिनासहमति पठाइएका अश्लील सन्देशहरूको प्रभाव बुझ्न एक पूर्व व्यावसायिक महिला खेलाडीसँग काम गरेका थिए। साथै, उनले यौन उत्पीडन र व्यावसायिक सीमासम्बन्धी पाठ्यक्रमहरू पनि पूरा गरेका छन्।
के थियो घटना?
न्यायाधिकरणले सुनेको प्रमाणअनुसार, ती व्यक्तिले एक पीडितसँग ‘अनुचित र यौनजन्य सन्देश आदानप्रदान’ गरेका थिए। पीडितले रोक्न आग्रह गरेपछि उनी रोकिए, तर केही दिनपछि फेरि ‘यौनजन्य र अनुचित प्रकृतिको अर्को सन्देश’ पठाए।
दोस्रो पीडित, जो ती व्यक्तिभन्दा निकै कान्छी थिइन् र कामको सिलसिलामा उनीसँग कुराकानी गर्नुपर्थ्यो, उनले पनि अश्लील तस्बिरहरू प्राप्त गरिन्, जसमा उनले कुनै प्रतिक्रिया दिइनन्।
पछि, प्रशिक्षकले उनलाई चेन्जिङ रुममा फोहोर छ कि छैन भनेर हेर्न भने र त्यही बेला पीडितलाई ‘अनुचित तरिकाले चुम्बन गर्ने प्रयास’ गरे, तर पीडित पछि हटिन्।
आफ्नो निर्णयमा, सीडीपीले दुवै पीडितहरू पीडकभन्दा निक्कै कम उमेरका भएको र पदहरूबीच पनि ‘स्पष्ट असन्तुलन’ भएको उल्लेख गरेको छ।
क्रिकेट नियामकका प्रबन्ध निर्देशक क्रिस हावार्डले उक्त दुर्व्यवहारलाई अस्वीकार्य भन्दै ‘यसको रिपोर्ट गर्नेहरूको खुलापन र साहस’को प्रशंसा गरे।
उनले भने, ‘खेलबाट यौन दुर्व्यवहार हटाउनु क्रिकेट नियामकको प्राथमिकता हो। हामी बुझ्छौं कि प्रभावित व्यक्तिहरूलाई अगाडि आउन धेरै साहस चाहिन्छ।’
प्यानलका अनुसार, ती व्यक्तिले महिनौंसम्म परामर्श लिएका थिए र अब आफू एक राम्रो व्यक्ति बन्ने आशा राखेका छन्। उनले कार्यस्थलको सीमा, सामाजिक सञ्जालको दुरुपयोग र यौन उत्पीडनबारे गहिरो बुझाइ विकास गरेको प्रतिवेदनमा उल्लेख छ।
साउन २२, २०८२ बिहीबार ०८:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।