एसियन कप छनौटमा भुटानसँग बराबरी खेल्यो नेपालले

काठमाडौँ : एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत बुधवार नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो। भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेलमा आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भएको हो।
नेपालले भुटानविरुद्ध खेलको पहिलो मिनेटमा नै गोल गरेको थियो। नेपालको लागि सेनु परियारले गोल गरिन्। नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन।
खेलको १८औँ मिनेटमा भुटानले गोल फर्कायो। भुटानका लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। खेलको ७०औँ मिनेटमा नेपालले गोल गर्यो। तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन। खेल बराबरीमा टुङ्गिएसँगै नेपाल र भुटानले १–१ अङ्क बाँडेका छन्।
साउन २१, २०८२ बुधबार २२:०२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।