अग्नि मोटो-इन्कले सार्वजनिक गर्यो बिगस इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख २८ हजारदेखि ३ लाख २५ हजारसम्म

काठमाडौँ : अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइन्क प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजी) इलेक्ट्रिक स्कुटर’ सार्वजनिक गरेको छ। साउन २१ बाट भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रडक्ट लन्च इभेन्टमा कम्पनीले स्कुटर सार्वजनिक गरेको हो।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारी लगायत उपस्थित थिए।
अग्नि ग्रुपले बिगस(बिजी) का दुई मोडेलहरू बिजी आरयुभि३५० र बिजी सी१२ नेपाली बजारमा सार्वजनिक गरेको हो। सो स्कुटरले शहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको कम्पनीले दाबी गरेको छ।
कम्पनीका अनुसार आरयुभि ३५० आइ-इ-एक्सको मूल्य २ लाख ७९ हजार ४ सय रहेको छ। आरयुभि म्याक्सको मूल्य ३ लाख २५ हजार ३ सय रहेको छ। बिजी सी१२ पनि दुई भेरियन्टमा उपलब्ध छन्। सी१२ आइ-इ-एक्सको मूल्य २ लाख २८ हजार ४ सय रहेको छ भने सी१२ म्याक्स ३.० को मूल्य ३ लाख ४ हजार ९ सय रहेको छ।
बिजी आरयुभि३५० स्कुटरहरूको ‘बिग ब्रदर’
कम्पनीका अनुसार बिजी आरयुभि३५० मोडलको स्कुटर शहरका लागि उपयुक्त र भरपर्दो विद्युतीय सवारी हो। यसले राइडर युटिलिटी भेहिकलको रूपमा स्कुटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गरेको छ। यसमा १६ इन्चको ठूलो एलोय ह्विल्स, १६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडी रहेको छ।
१६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रति घण्टा टप स्पिड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पिएमएसएम इन-व्हील हाइपरड्राइभ मोटरको साथसाथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपि६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित बनाएको कम्पनीको दाबी छ।
बिजी सी१२ : परिवारको लागि स्मार्ट
बिजी सी१२ ले दैनिक यात्रालाई आरामदायी बनाउने र फराकिलो लेगरुम र सिट, साथै २३ लिटरको अन्डर-सिट स्टोरेज, १२.७ सेमी टिएफटि स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
यसमा रहेको एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपि ६७ रेटेड लिथियम आयन ब्याट्री सेल, र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्ने कम्पनीले जानकारी दिएको छ।
साउन २१, २०८२ बुधबार २१:४३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।