भरत भ्रष्ट भएको अदालतको ठहर, अवैध सम्पत्तिमा एक वर्ष कैद सजाय

काठमाडौं : सर्लाहीमा भरत ताल निर्माण गर्दा बागमतीका मेयर भरत थापासहितले भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ। बुधवार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापासहितले ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थ हानि नोक्सानी गरेको ठहर गरेको हो।
बुधवार अदालतले मेयर थापा, विमल कुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणकोक्रममा भ्रष्टाचार गरेको ठहर गरेको हो। उपमेयर लीलाकुमारी मोक्तानसहित विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन्।
अदालतले भ्रष्टाचार भएको ठहर गरे पनि सजाय भने सुनाएको छैन। सजायका लागि अदालतले साउन २९ मा पेसी तोकेको छ। भरत तालको आवरणमा बागमती नगरपालिकाका मेयर थापाले गरेको भ्रष्टाचारबारे उकेराले २०८० पुस १७ मा विस्तृत खोजमूलक समाचार प्रकाशित गरेको थियो। उकेराले स्थलगत खोजबाट नदीजन्य पदार्थको दुरुपयोगदेखि आँप बगैँचासम्मको आवरणमा भ्रष्टाचार भएको प्रमाणहरू फेला परेको थियो।
थापाबारे अनुसन्धान गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि उनी विरुद्ध अवैध सम्पत्ति लगायत चार मुद्दा दायर भएको थियो।
विशेषले मेयर थापाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको समेत ठहर गरेको छ। अदालतले उनको तीन करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रहेको ठहर गरेको हो। यसमा अदालतले उनीमाथि बिगो बराबरको जरिवाना र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ। अवैध सम्पत्तिमा उनलाई १ वर्ष कैदको सजाय समेत सुनाइएको छ। अख्तियारले नै यो २०८० चैत २७ मा अवैध सम्पत्ति सम्बन्धी मुद्दा लगेको थियो।
उनीमाथि सर्लाहीमा बन सम्बन्धी मुद्दा छ भने अख्तियारले नै आँप बगैँचाको आवरणमा प्रदेशबाट ल्याएको रकम दुरुपयोग गरेर भ्रष्टाचार गरेको अर्को मुद्दा पनि विचाराधीन छ।
साउन २१, २०८२ बुधबार २१:१६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।