वर्षाको प्रभाव : सात राजमार्गमा पुरै अवरोध, १३ राजमार्ग एकतर्फी

काठमाडौं : वर्षाका कारण आएको बाढी पहिरोबाट देशभरका सात राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण देशभरका सात मुख्य राजमार्गमा अवरोध भएकाले सवारीसाधन चल्न सकेका छैनन्।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्गमा पूर्ण रूपमा अवरोध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी करिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ।
काठमाडौँको टोखाबाट नुवाकोट जाने सडक खण्ड, तेह्रथुमको मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्वपश्चिम लोकमार्ग, रसुवाको गल्छी त्रिशूली सडक, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडक, तनहुँको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख सुर्खेत सडक खण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
साउन २१, २०८२ बुधबार १८:०२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।