भारतले रुससँग कच्चा तेल नकिने नेपाल समेत हुनेछ प्रभावित, ट्रम्प दबाब बढाएको बढायै

काठमाडौं : रुसले युक्रेनसँग युद्ध विराम गर्न नमानेपछि रिसाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक प्रभाव पार्न सहयोगी राष्ट्रमाथि दबाब बढाइरहेका छन्।
पछिल्लो समय उनले निरन्तर भारतमाथि दबाब बढाइरहेका छन्। यसको कारण हो भारत रुसको सबैभन्दा ठूलो कच्चा तेलको खरिदकर्ता हुनु। भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेल किनेर त्यसलाई प्रशोधन गरेर अन्य देशमा विक्री गर्दै आएको छ।
रुस र अमेरिका दुबैसँग भारतको राम्रो सम्बन्ध छ। यी दुवै देशको सम्बन्ध बिग्रिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धमा तटस्थ देखिने रणनीति लिँदै आएका छन्।
उनले अमेरिका र रुस दुवैसँगको सम्बन्ध सन्तुलनमा राख्ने प्रयास गरे पनि अब भने ट्रम्पले भारतलाई कि अमेरिका वा रुस रोज्न दबाब बढाइरहेका छन्।
भारतले रुससँग कच्चा तेल र हतियार किन्ने गरेको भन्दै उनले व्यापारिक दबाब बढाउन भारतमाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनी दिइरहेका छन्।
उनले अमेरिकी सञ्जाल ‘सीएनबीसी’ सँगको अन्तर्वार्तामा, “अबको २४ घण्टाभित्र भारतबाट आउने सामानमा उल्लेखनीय रूपमा भन्सार शुल्क बढाइने” दाबी गरेका थिए।
तर नयाँ शुल्क दर कति हुनेछ स्पष्ट भइसकेको छैन। ट्रम्पले भारतबाट आउने सामानमा कम्तीमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेका छन्।
गत साता उनले ट्रुथ नामक सामाजिक सञ्जालमा भारतले सधैंजसो आफ्नो सैन्य उपकरण रुसबाट खरिद गर्दै आएको र भारत चीनसँगै रुसको सबैभन्दा ठूलो ऊर्जा ग्राहक रहेको भन्दै संसारले रुसलाई युक्रेनमा हत्या रोक्न आग्रह गरिरहेको बेलामा यस्तो हुनु सकारात्मक नभएको लखेका थिए।
भारतले किन किन्छ रुसी तेल?
भारत अहिले विश्वको तेस्रो ठूलो तेल उपभोक्ता देश हो। भारतले तीव्र गतिमा बढिरहेको अर्थतन्त्र र जनसङ्ख्याको आवश्यकताका लागि रुसी कच्चा तेल किन्ने गरेको छ।
रुसी कच्चा तेलले भारतको कुल आयातको करिब ३६ प्रतिशत हिस्सा ओगटिरहेको छ। यसले रुस भारतको शीर्ष आपूर्तिकर्ता देखिन्छ। सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली मुलुकहरूले रुसी तेल किन्ने क्रम रोकिदिए पनि भारतले भने रोकेको छैन। अहिले रुसी तेल चीन, भारत र टर्की जाने गरेका छन्।
भारतले रुससँग निकै सस्तो दरमा कच्चा तेल किन्ने गरेको छ। उसले रुससँग किनेको मूल्यमा अन्य परम्परागत तेल आपूर्तिकर्ताहरूले दिने सम्भावना थिएन। त्यसैले उसले रुस र अमेरिका दुबैसँग समन्वयकारी सम्बन्ध बनाएर रुसबाट कच्चा तेल किनिरहेको थियो।
भारतले अघिल्लो ट्रम्प प्रशासनकै दबाबमा इरान र भेनेजुएलाबाट तेल किन्न छोडेको थियो। त्यसअघि भारत इरानको शीर्ष ग्राहकमध्ये एक थियो, जहाँबाट प्रतिदिन झन्डै ४ लाख ८० हजार ब्यारल तेल खरिद हुन्थ्यो।
अहिले रुससँग कच्चा तेल किनिरहेको छ। रुसी तेलले भारतको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ, जसले विश्व तेल व्यापारमा समेत महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
यसमा भारतले रुसबाट तेल किनेकाले मध्यपूर्वबाट तेलको प्रतिस्पर्धा घटेको र विश्व बजारमा तेलको मूल्य कम राख्न सहयोग गरेको तर्क समेत गर्ने गरेको छ।
बाइडेन प्रशासनको पालामा युक्रेन युद्ध सुरु भयो। त्यो बेलामा पनि भारतले रुसबाट तेल किनिरहेकोबारे सबै जानकार थिए। तर पश्चिमी राष्ट्रहरूले त्यसलाई विषय बनाएनन्।
नेपालसहित अमेरिकासम्म निर्यात
नेपाल इन्धनका लागि पूर्ण रूपमा भारतसँग निर्भर छ। भारतले नाकाबन्दी लगाएको बेलामा केही मात्रामा चीनबाट इन्धन ल्याए पनि त्यसले निरन्तरता पाउन सकेन।
भारतले रुसबाट किनेको कच्चा तेल प्रशोधन गरेपछि नेपालसँगै युरोप, अमेरिका, बेलायतलगायतका देशहरूमा निर्यात गर्छ।
रुसमाथि प्रत्यक्ष प्रतिबन्ध भए पनि भारतमा परिष्कृत भएको तेलमा निर्यातमा प्रतिबन्ध लागु नहुने भएकाले अन्य देशले समेत ऊर्जामा भारतबाट सहजै निर्यात गर्ने गरेका छन्।
एक तथ्याङ्क अनुसार सन् २०२३ मा भारतले करिब ८६ अर्ब अमेरिकी डलर बराबरको परिष्कृत पेट्रोलियम पदार्थ निर्यात गरेको थियो। यसले भारतलाई विश्वको दोस्रो ठूलो पेट्रोलियम निर्यातकर्ता बनायो।
अमेरिकाले रुसबाट कच्चा तेल किन्न रोक लगाएमा त्यसको प्रभाव मूल्यदेखि इन्धनको मात्रासम्ममा पर्ने देखिन्छ। त्यसको प्रभाव नेपालको इन्धन बजारमा पनि पर्ने छ नै।
भारत-रुस सम्बन्ध
भारत र रुसबीचको सम्बन्ध केवल ऊर्जा वा तेलमा सीमित छैन। शीतयुद्धकालमा जब अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो, भारत तटस्थ राष्ट्र भए पनि १९७० को दशकदेखि सोभियत संघतिर झुक्न थालेको थियो। यही बेलामा अमेरिकाले पाकिस्तानलाई सैन्य र आर्थिक सहायता दिन थालेको थियो।
त्यसपछि रुसले भारतलाई हतियार आपूर्ति गर्न सुरु गर्यो। अहिले पनि भारतमा रुसी हतियार आउने गरेको छ। अन्तर्राष्ट्रिय शान्ति अध्ययन संस्थानका अनुसार, भारत अझै पनि रुसी हतियारको सबैभन्दा ठूलो ग्राहक हो।
सन् २०२४ मा प्रधानमन्त्री मोदीले रुसको भ्रमण गर्दा राष्ट्रपति पुटिनले उनलाई अँगालो हालेर स्वागत गरेका थिए र आफ्नै गाडीमा उनलाई शहर घुमाएका थिए। त्यसले दुई नेताबीचको मित्रता झन् प्रगाढ देखिएको थियो।
त्यस्तै, ट्रम्प र मोदीबीच पनि पहिले आत्मीय सम्बन्ध थियो। सन् २०१९ मा ट्रम्पले एउटा आमसभामा भारतले आफू जस्तो राम्रो मित्र कहिल्यै नपाएको दाबी गरेका थिए।
तर ट्रम्प पुनः राष्ट्रपति बनेपछि भारतसँगको सम्बन्ध चिसिएको छ। ट्रम्पको पाकिस्तान–भारत युद्धविराममा क्रेडिट लिन गरेको दाबीबाट भारत रुष्ट देखिन्छ। उता ट्रम्प पनि रुसी युद्ध प्रयासलाई आर्थिक सहयोग गरिरहेको भन्दै रिसाएका छन्।
त्यसैले ट्रम्पले ट्रुथमा लेखे “भारत र रुस मिलेर आफ्नो मृत अर्थतन्त्र लिएर डुबुन्। मलाई कुनै सरोकार छैन।”
साउन २१, २०८२ बुधबार १७:५०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।