दुर्घटना घटाउन पृथ्वीराजमार्गमा उच्च जोखिमयुक्त पाँच ठाउँ छानिँदै

दुर्घटना घटाउन पृथ्वीराजमार्गमा उच्च जोखिमयुक्त पाँच ठाउँ छानिँदै

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गतको तनहुँ खण्डमा भएका दुर्घटना सङ्ख्याका आधारमा पाँच जोखिमयुक्त ठाउँको पहिचानको काम सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विस्तारका क्रममा रहेको मुग्लिङ पोखरा सडकका कारण तनहुँ खण्डमा दुर्घटना बढेकाले दुर्घटना न्यूनीकरणका लागि पाँच प्रमुख जोखिमयुक्त स्थान पहिचान गर्न लागिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय तनहुँमा राजमार्ग सुरक्षा तथा अवरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जोखिमयुक्त स्थान पहिचान गरी प्राविधिक पक्षको अध्ययन गरेर सुधार गर्ने तयारी गरेको छ।

राजमार्गमा हुने अवरोध समन्वयात्मक रूपमा हटाउन जिल्ला प्रशासन कार्यालय तनहुँबाट तर्जुमा भएको राजमार्गमा हुने अवरोध हटाउने समूह रोष्टर सहितको कार्ययोजना २०८२ स्वीकृत गरिएको उनले बताए।

‘पृथ्वीराजमार्गको तनहुँ खण्डमा पर्ने बढी दुर्घटनाग्रस्त क्षेत्रहरूको तुलनात्मक अवस्थाको विश्लेषण गरी सरोकारवालाहरूको सुझाव अनुसार दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ’ उनले भने।

हाल देशभर मनसुनी वायुको प्रभावका कारण मध्यमदेखि भारी वर्षा भइरहेको र आगामी दिनमा समेत वर्षाको सम्भावना रहेकाले पृथ्वीराजमार्गका विभिन्न खण्डहरूमा पहिरो लगायतका जोखिम रहेको छ।

यस खण्डका अधिकांश भागमा चार लेन सडक सञ्चालनमा आए पश्चात् सवारी दुर्घटना उल्लेख्य रूपमा बढेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले रातको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नुपरेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर यात्रा गर्न अनुरोधसमेत गरेको छ।

वर्षातको समय भएकाले कार्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर मात्रै रातिमा यात्रा गर्न सबैमा आग्रह गरेको छ।

साउन २१, २०८२ बुधबार १६:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।