फिल्म प्रचारमा सौगात त्यतिकै हिँड्दा पलको बडीगार्डको फन्डा

फिल्म प्रचारमा सौगात त्यतिकै हिँड्दा पलको बडीगार्डको फन्डा

काठमाडौं : नाबालिग बलात्कारमा जेल बसाई टुंगिएर फिल्म क्षेत्रमा फर्किए पनि पल शाहका अभिनय रहेका फिल्म एकपछि अर्को गर्दै निरन्तर टाट पल्टिरह्यो। दर्शकले वास्तै गरेनन् उनले अभिनय गरेका फिल्ममा। अधिकांश फिल्म आर्थिक कारोबारमा कमजोर हैन निकै कमजोर बने।

उनले अभिनय गरेको न ‘रावायण’ चल्यो न ‘मायावी’ नै। फिल्म निरन्तर डुबे पनि अभिनय गर्न भने छाडेका छैनन्। अहिले उनको अभिनय रहेको फिल्म मोहर रिलिजको संघारमा छ।

साउन २३ मा यो मात्र हैन, सौगात मल्लको अभिनय रहेको फिल्म ‘सिटामोल’ पनि प्रदर्शनमा आउँदैछ। दुवै फिल्मका अभिनेता फरक छन्। तर अभिनेत्री भने एकै बेनिशा हमाल छिन्।

दर्शकले नपत्याएर हलै नआइरहेको बेलामा उता पल चैँ बडीगार्डसहित प्रचारमा हिँडिरहेका छन्। दर्शक हलसम्म आउने अभिनयले हो नकि बडीगार्ड हेरेर। यति बुझे त उनले अभिनयमै मिहेनत गर्थे होलान्।

फिल्म ‘सिटामोल’का अभिनेता सौगात मल्ल भने सामान्य रूपमा प्रचारमा छन्। उनले अभिनय गरेको फिल्म, अभिनयस्तर अनि सफल फिल्मको संख्या हेर्ने हो भने सौगात भनेका सौगात नै हुन्। तर उनको लागि अहिलेसम्म बडीगार्ड देखाएर फिल्मको हाइप बनाउने फन्डा गर्नु परेको छैन।

अहिले उनी खुट्टाको शल्यक्रिया गरेर घरमा आराम गरेर बसेको छन्। फिल्म सफल हुँदा अभिनेता खुसी नहुने कुरै भएन। तर जसरी पनि व्यापारिक रूपमा सफल हुनै पर्छ भनेर मरिमेटेर भने लागेका छैनन् उनी।

साउन २१, २०८२ बुधबार १६:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।