अराजक शैलीबाट मुक्त हुन रास्वपालाई विश्वप्रकाशको सुझाव

काठमाडौं : भिजिट भिसामा गृहमन्त्रीको संलग्नताको दाबी गर्दै संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिए।
प्रतिनिधि सभाको सदस्य समेत रहेका शर्माले बुधवार संसद्को नियमित बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नै भिजिट भिसामा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क राख्दै उनले ‘तपाईँहरूले आफ्नै सभापति गृहमन्त्री भएको बेलामा भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन?' भनेर प्रश्न गरेका थिए।
उनले रास्वपाका सांसदहरूले निरन्तर संसद् बैठक बहिष्कार गरिरहेको भन्दै भिजिट भिसामा जो-जो संलग्न छन् उनीहरूमाथि कारबाही हुनुपर्ने बताए। तर नयाँ दल सहमतिमा आउन नचाहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिपक्षी दलको भावनाको कदर गर्दै छानबिन समिति समेत गठन भएको बताएका थिए।
उनले बैठकमा पछिल्ला पाँच गृहमन्त्रीको कार्यकालमा भिजिट भिसामा विदेश गएका नेपालीहरूको संख्या बताउँदै सबैभन्दा छोटो अवधिमा गृहमन्त्री बनेका लामिछानेको पालामा सबैभन्दा धेरै नेपालीहरू भिजिट भिसामा गएको बताए।
उनले रास्वपाका सांसदहरूलाई भिजिट भिसामा सबैभन्दा धेरै रास्वपाकै सभापति गृहमन्त्री भएको बेलामा गएको भन्दै आवेगमा आएर विषयवस्तुलाई नहेर्न आग्रह गरेका थिए। उनले केही समय अगाडि रास्वपाका एक सांसदले यो मानव बेचबिखन सम्बन्धी विषय दलका लागि माहौल तताउने विषय भएको बताएको दाबी गरे। उनले बैठकमा उपसभामुख इन्दिरा रानामाथि लागेको मानव बेचबिखनको विषय पनि उठाएका थिए।
उनले सहकारी पीडितहरुलाई अविलम्ब पाँच लाख उपलब्ध गराउन आग्रह गरे। उनले सहकारी ठगीमा अझ धेरै पक्राउ पर्न बाँकी भएको भन्दै जिवी राइको पाट्नर जेलमा रहेको तर उनलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्न सोधेको थिए। उनले विपिन जोशीको खोजीमा के काम भइरहेको छ भनेर परराष्ट्रमन्त्रीलाई समेत प्रश्न गरेका थिए।
साउन २१, २०८२ बुधबार १५:१०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।