रास्वपा र राप्रपाद्वारा साढे दुई महिनादेखि निरन्तर संसद् बहिष्कार, बुधवार पनि आफ्नो कुरा बोले अनि बाहिरिए

रास्वपा र राप्रपाद्वारा साढे दुई महिनादेखि निरन्तर संसद् बहिष्कार, बुधवार पनि आफ्नो कुरा बोले अनि बाहिरिए
फाइल तस्बिर

काठमाडौं : भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय समिति वा उच्चस्तरीय आयोगको माग राख्दै संसद्को नियमित बैठक बहिष्कार गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बुधवार पनि बैठक कक्षबाट बाहिरिए। बैठक सुरु भएपछि राप्रपाकी सांसद रोसन कार्की र रास्वपाका मनिष झाले आफ्ना कुरा राखे।

कार्कीले भिजिट भिसा प्रकरणबारे नै आफ्नो धारणा राख्दै निरन्तर दुई दल आन्दोलनमा हुँदा पनि सभामुखले संसद् बैठक चलाइराखेको भन्दै प्रश्न गरेकी थिइन्। उनले बैठकमा राज्य व्यवस्था समितिका सभापति रामहरि जोशीबारे कुलिङ अफ पिरियडको विधेयकमा भएको छेडखानीबारे अध्ययन गर्न गठित संसदीय समितिको सिफारिस उल्लेख गर्दै राजीनामा समेत मागेकी थिइन्।

रास्वपाका सांसद मनिष झाले भने भाषा आयोगमा एक जना कृष्णप्रसाद नियुक्त भएको तर अर्कैले नियुक्ति पत्र लिएर काम गरिरहेको विषय उठाएका थिए। दुवै दलका सांसदहरूले आफ्नो धारणा राखेपछि हलमा रहेका दलका अन्य सांसदहरू उठे र बाहिरिए। दुवै दल जेठ १३ गतेदेखि विरोधमा छन्। उनीहरूले निरन्तर संसद् बैठक बहिष्कार गर्दै बाहिरिने गरेका छन्।

समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले पटक-पटक बैठक राखे पनि सहमति हुन सकेको छैन। सरकारले भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति समेत गठन गरेको छ। तर दुवै दलले पूर्व कर्मचारीको नेतृत्वमा बनेको समिति स्वीकार्य नहुने भन्दै कि उच्चस्तरीय आयोग वा संसदीय समितिको माग गरिरहेका छन्।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले कार्यालयमै नियन्त्रणमा लिएर नेपाली नागरिकहरूसँग रकम असुलेर भिजिट भिसामा बाहिर पठाएको विषयमा अनुसन्धान सुरु गरेपछि प्रारम्भमा मा‌ओवादी केन्द्रसहितका दल गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका थिए।

माओवादी र सत्ताधारी दलबीच दुई बुँदे सहमति भएपछि माओवादीले संसद् बैठक अवरुद्ध गर्न छाड्यो। एकीकृत समाजवादी पनि नियमित संसदीय अभ्यासमा सहभागी भयो। रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध नगरी बहिष्कार गर्न सुरु गरे। उनीहरूको बहिष्कारकै बिच बजेट र विधेयकहरू पास भइरहेका छन्।

उता अख्तियारले पनि यो प्रकरणको अनुसन्धान सक्काएको छैन। यो प्रकरणमा पक्राउ परेकाहरूलाई अख्तियारले हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेको छ।

साउन २१, २०८२ बुधबार १४:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।