गृहमन्त्री लेखकलाई राप्रपा सांसदको प्रश्न- भिजिट भिसाकै कारण मारिएका नेपालीको लास देख्दा तपाईंको मुटु काम्दैन?

गृहमन्त्री लेखकलाई राप्रपा सांसदको प्रश्न- भिजिट भिसाकै कारण मारिएका नेपालीको लास देख्दा तपाईंको मुटु काम्दैन?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा सरकार र गृहमन्त्रीले संवेदनहीनता देखाएको भन्दै संसद्मा आक्रोश व्यक्त गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लामो समयदेखि सदनमा गरिएको विरोधलाई सरकारले पूर्ण रूपमा वेवास्ता गरेको आरोप लगाइन्।

भिजिट भिसाको दुरुपयोगबाट नेपाली युवाहरूले ज्यान गुमाइरहेको अवस्थाप्रति सरकार उदासीन रहेको उनको भनाइ थियो।

‘हामी भिजिट भिसाको विरोधी होइनौँ, तर यसको नाममा नेपालीलाई मार्ने कामको विरोधी हौँ,’ उनले भनिन्, ‘५० हजारदेखि एक लाख बुझ्ने सरकार र गृहमन्त्रीको मुटु आफ्ना दाजुभाइ-दिदीबहिनीको लास देख्दा पनि काम्दैन?’

संसदीय मर्यादाबारे सरकारलाई सचेत गराउँदै उनले पूर्वसभामुख स्वर्गीय सुवास नेम्वाङलाई स्मरण गरिन्।

‘उहाँ भन्नुहुन्थ्यो- सदनमा एक जना सांसद मात्रै उठेपनि सभामुखले त्यसको समाधान गरेर सदन चलाउनुपर्छ,’ कार्कीले भनिन्, ‘तर आज हामी (रास्वपा र राप्रपा) लामो समयदेखि आन्दोलनरत छौँ, सुनुवाइ भएको छैन।’

उनले सरकारको जवाफदेहितामाथि पनि गम्भीर प्रश्न उठाइन्।

‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो?’, उनले प्रश्न गरिन्।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका छन्।

साउन २१, २०८२ बुधबार १४:१३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।