कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापतिको राजीनामा

कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापतिको राजीनामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।

‘कुलिङ अफ पिरियड’को व्यवस्थामाथि भएको चलखेलबारे छानबिन गर्न गठित समितिले सभापति खतिवडालाई पनि जिम्मेवार देखाएपछि रास्वपा प्रवक्ता समेत रहेका सांसद मनिष झाले  उनको राजीनामा मागेको हो।

यसै विषयलाई लिएर प्रवक्ता झाले प्रतिनिधि सभाको बैठकमा समेत आवाज उठाएका छन्। बैठकमा बोल्दै उनले छानबिन समितिको प्रतिवेदनमा नाम नलेखिएको बहानामा सभापति खतिवडा उम्किन नमिल्ने बताए।

‘कुलिङ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई सोधिन्छ,’ झाले संसदमा भने, ‘यो नालायकीपनको जवाफ कसले दिने? यो जिम्मेवारीपनको जवाफ कसले दिने?’

उनले प्रतिवेदनमा स्पष्ट नाम नभए पनि संकेत पर्याप्त रहेको तर्क गरे।

‘नाम लेखिएको छैन भनेर उम्किन मिल्दैन। अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने?’,  उनले प्रश्न गरे।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको छानबिन समितिले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा समिति सभापति खतिवडासमेत जिम्मेवार रहेको प्रतिवेदन मंगलबार संसदमा पेश गरेको थियो। सोही प्रतिवेदनलाई आधार मान्दै रास्वपाले खतिवडाको राजीनामा माग गरेको हो।

साउन २१, २०८२ बुधबार १३:३९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।