'हवाई फायर' गर्दा तिघ्रामा गोली लागेर सप्तरीमा लालु यादवको मृत्यु, स्थानीयले प्रहरी कार्यालय अगाडि टायर बालेर गरे विरोध

सप्तरी : भारत तस्करीका लागि मदिरा राखिएको स्थानमा पुगेको प्रहरीले चलाएको गोली लागेर ३५ वर्षका लालु यादवको मृत्यु भएपछि स्थानीयवासी विरोध प्रदर्शनमा उत्रिँदै राजविराजमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले निर्दोषको हत्या भएको भन्दै घटनाको छानबिनको माग गरिरहेका छन्।
उनीहरू बिहान १० बजेदेखि नै जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रहरीले भारततिर मदिरा तस्करी भइरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीमाथि ढुंगामुढाहुँदा चार राउन्ड हवाई फायर गर्दा यादवलाई गोली लागेको दाबी गरेको छ। प्रहरीले हवाई फायर गरेको दाबी गरे पनि मृतक यादवको तिघ्रामा गोली लागेको थियो।
घाइते यादवलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा लगिए पनि मंगलबार बेलुका नै उनको मृत्यु भएको थियो। प्रहरीले मदिरा तस्करी नियन्त्रणका लागि गएको दाबी गरे पनि यादव तस्करीमा संलग्न थिए वा थिएनन् खुलाउन सकेको छैन।
मृतकको शव अस्पतालको शव कक्षमा रहेको छ। शवको पोस्टमार्टम समेत हुन सकेको छैन। आफन्तले छानबिन समिति नबनेसम्म पोस्टमार्टम गर्न नदिने अडान लिएका छन्।
साउन २१, २०८२ बुधबार १३:३७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।