३५ नयाँ मोडलसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

३५ नयाँ मोडलसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन
नाइमा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री विष्णु पौडेल र साथमा नाइमा अध्यक्ष ऋतुसिंह वैध्य। तस्विर : नेपाल न्युज बैंक

काठमाडौं : अटो बजार प्रवर्धन र नयाँ मोडलका गाडीहरू प्रयोगकर्तामाझ परिचय गराउन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधवारदेखि सुरु भयो।

नाइमाले पहिलो पटक आयोजना गरेको प्रदर्शनीको अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरे।  बुधवार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन्।

एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुने नाइमाले जनाएको छ। आयोजकले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता समेत आयोजना गरेको छ।

बुधवारसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र साउन २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरूलाई दश हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

एक्स्पोमा विद्युतीय र इन्धनबाट चल्ने साथै हाइब्रिड सवारीसाधन प्रदर्शनीमा राखिएको छ। सवारीसाधनको पार्टपुर्जा भने राखिएको छैन। ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ।

नाइमाको अटो शो सकिएपछि भदौ पहिलो साता नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन नाडाको आयोजनामा अर्को अटो शोको आयोजना हुँदैछ। नाडाले निरन्तर अटो शोको आयोजना गर्दै आएकोमा गाडीका आयातकर्ताहरु मिलेर नयाँ संस्था नाइमा गठन गरेसँगै पहिलो पटक अटो शोको आयोजना गरेका हुन्।

साउन २१, २०८२ बुधबार १३:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।