न स्तनपान कक्ष, न समयको सुविधा : कार्यस्थलको असुविधाले स्तनपानबाट बञ्चित आमा र शिशु

चितवन : इलामकी सुरुचि त्रिपाठीको काखमा डेढ वर्षको शिशु छ। व्यावसायिक कीट विकास केन्द्र, भण्डारामा कार्यरत उनले शिशु जन्मिएपछि सरकारले दिएको तीन महिने सुत्केरी बिदामा ढुक्कले स्तनपान गराइन्।
तर, जब उनी काममा फर्किइन्, परिस्थितिले कोल्टे फेर्यो। कार्यालयमा कामको चाप र घरको दूरीले गर्दा उनले आफ्नो शिशुलाई नियमित रूपमा अमृत समान दूध चुसाउन पाइनन्।
‘घर र कार्यालय दुवैतिर सहयोगी वातावरण भयो भने मात्रै सहज हुँदो रहेछ,’ सुरुचि आफ्नो अनुभव सुनाउँछिन्, ‘कार्यालय प्रमुख कस्तो हुनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ।’
उनको जस्तै पीडा र बाध्यता चितवनका अधिकांश कामकाजी आमाहरूको साझा समस्या बनेको छ।
सरकारले स्वस्थ बच्चाका लागि ‘सुनौलो एक हजार दिन’को अवधारणा र कम्तीमा दुई वर्ष स्तनपान गराउनुपर्ने बताए पनि व्यवहारमा यो लागू हुन सकेको छैन।
तीन महिनाको बिदा सकेर काममा फर्किएपछि न कार्यस्थलमा स्तनपान कक्ष छ, न त घर पुगेर शिशुलाई दूध खुवाएर फर्किने समय नै।
पत्रकार प्रतिमा सिलवालको अनुभव पनि फरक छैन। काठमाडौंमा काम गर्दा कार्यालय टाढा भएकाले उनले आफ्नो छोरालाई जम्मा चार महिना मात्र नियमित स्तनपान गराउन पाइन्।
‘एकातर्फ दूध भरिएर मलाई असह्य पीडा हुन्थ्यो, अर्कोतर्फ शिशुलाई ल्याक्टोजिन खुवाउनुको विकल्प थिएन’, उनले भनिन्।
भरतपुर-९ निवासी स्वस्तिका चौहान सरकारी कर्मचारी हुन्। घर नजिकै भए पनि बिहान १० देखि ५ बजेसम्मको कार्यालय समयमा शिशुलाई नियमित स्तनपान गराउन असम्भवप्रायः छ।
‘हरेक दुई घण्टामा स्तनपान गराउन घर ओहोरदोहोर गर्न सकिँदैन। बच्चा आमाको दूधमा निर्भर हुने बेला उसलाई छाडेर काममा जाँदा शारीरिक र मानसिक दुवै असर पर्छ’, उनी भन्छन्।
किन आवश्यक छ स्तनपान?
स्तनपान शिशुका लागि पहिलो खोप र सर्वोत्तम आहार हो।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा. स्वेच्छा अधिकारी भन्नुहुन्छ, ‘यो केवल खाना होइन, रोगसँग लड्ने शक्ति दिने प्राकृतिक औषधि पनि हो।’
आमाको दूधमा शिशुको मस्तिष्क र स्नायु प्रणालीको विकास गर्ने विशेष तत्व हुन्छ, जुन गाईभैँसी वा बट्टाको दूधमा पाइँदैन।
डा. अधिकारीका अनुसार पूर्ण स्तनपान गरेका शिशुमा एलर्जी, दम, मोटोपन, मधुमेह र मुटु रोगको जोखिम कम हुन्छ। यसले आमा र बच्चाबीच भावनात्मक सम्बन्ध बलियो बनाउँछ र शिशुमा सुरक्षित महसुस गराउँछ।
स्तनपान शिशुलाई मात्र नभएर आमाका लागि पनि उत्तिकै फाइदाजनक छ। यसले सुत्केरी अवस्थामा धेरै रक्तस्राव हुने जोखिम घटाउँछ, पाठेघरलाई पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ र स्तन तथा पाठेघरको क्यान्सरको खतरालाई समेत कम गर्छ।
समाधान के त?
यो समस्या कामकाजी आमाको मात्रै होइन, सिङ्गो समाज र राष्ट्रको हो। स्वस्थ नागरिक उत्पादनको पहिलो खुड्किलो नै स्तनपान हो। भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. खेमप्रसाद पौडेलका अनुसार यसका लागि बहुपक्षीय पहल आवश्यक छ।
‘कार्यालयहरूमा अनिवार्य रूपमा स्तनपान कक्षको व्यवस्था हुनुपर्छ,’ उनी सुझाव दिन्छन्, ‘स्तनपान गराउने आमाहरूलाई कामको बीचमा अतिरिक्त समय वा लचिलो कार्यतालिकाको व्यवस्था गर्नुपर्छ।’
जबसम्म सरकारी तथा निजी क्षेत्रले कार्यस्थललाई स्तनपानमैत्री बनाउँदैनन्, तबसम्म सुरुचि, प्रतिमा र स्वस्तिकाजस्ता हजारौँ आमाहरू काम र शिशुको भोकबीच पिल्सिन बाध्य हुनेछन्। स्तनपान महिना मनाइरहँदा यो विषय भाषण र कार्यक्रममा मात्र सीमित नभई हरेक कार्यस्थलको नीतिमा समेटिनुपर्छ।
नारायण ढुङ्गाना/रासस
साउन २१, २०८२ बुधबार १२:५५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।