एनपीएलको मिनी अक्सनको क्याटेगोरी ‘ए’मा आदिलसहित यी आठ खेलाडी

एजेन्सी : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनि अक्सनका लागि १५० खेलाडी छनोट भएकामध्ये क्याटेगोरी ‘ए’मा आठ खेलाडी रहेका छन्।
नेपाल क्रिकेट संघले निकालेको सूचीमा क्याटेगोरी ‘ए’मा अन्तर्राष्ट्रिय खेल खेलिसकेका र अनुभवी आठ खेलाडी रहेका छन्।
अक्सनका लागि छानिएका क्याटेगोरी ‘ए’का आठ खेलाडीहरूमा विकेटकिपर तथा ब्याट्सम्यान अर्जुन साउद, अर्का विकेटकिपर तथा ब्याट्सम्यान दिलिप नाथ, ब्याटरहरू देव खनाल, शरद भेषावकर, अलराउन्डरत्रय पवन सर्राफ, सुनाम गौतम र मोहम्मद आदिल अन्सारी तथा बलर सूर्य तामाङ छन्।
बुधबार नेपाल क्रिकेट संघले १५० खेलाडीको सर्टलिस्ट सार्वजनिक भएको छ। यी खेलाडीमध्ये ३७ जना खेलाडीले आगामी संस्करणको नेपाल प्रिमियर लिग खेल्न पाउनेछन्।
एनपीएलका लागि ४५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए, जसबाट टोलीको रोजाइ र क्यानको प्राविधिक टोलीको मापदण्ड पूरा गर्ने १५० जनाको मात्र सर्टलिस्ट भएको हो।
आठ टोलीले गत सिजनका आफ्ना ५१ प्रभावशाली खेलाडीलाई रिटेन गरिसकेकाले अब बाँकी रहेका सीमित स्थानका लागि मात्र प्रतिस्पर्धा हुनेछ।
श्रेणी ‘ए’मा रहेका ८ शीर्ष खेलाडीमध्ये ४ जनाले मात्र टोलीमा स्थान पाउनेछन्। ११३ खेलाडी सूचीमा परेर पनि यसपटक एनपीएल खेल्नबाट वञ्चित हुनेछन्।
खेलाडीको मूल्य पनि उनीहरूको श्रेणीअनुसार तोकिएको छ। श्रेणी ‘ए’का खेलाडीका लागि अधिकतम १५ लाखको बोली लाग्नेछ भने श्रेणी ‘बी’ र ‘सी’का खेलाडीहरूका लागि अधिकतम क्रमश: १० र ५ लाखको बोली लाग्नेछ।
अक्सन यही साउन २४ गते शनिबार हुनेछ।
साउन २१, २०८२ बुधबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।