नाडा अटो शो भदौ ३ देखि काठमाडौंमा, इतिहासकै ठूलो प्रदर्शनी हुने दाबी

काठमाडौं : नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
‘गो फर मोर’ नारासहित आयोजना हुन लागेको यो संस्करण नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य हुने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दाबी गरेको छ।
नाडाले जारी गरेको विज्ञप्तिअनुसार प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। यो प्रदर्शनी केवल सवारी साधनको जमघट मात्र नभएर नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब बन्ने आयोजकको विश्वास छ।
यस पटकको शोको मुख्य आकर्षणको रूपमा भविष्यको प्रविधिलाई प्रस्तुत गरिने भएको छ। जसमा स्वचालन र बुद्धिमत्ताको प्रतीकका रूपमा युनिट्रीका चारपाङ्ग्रे रोबोटहरू र शहरी हवाई मोबिलिटीको पहिलो झलक दिने डीपल ईभीटोल युृएभीको प्रदर्शनी रहनेछ।
यसका साथै, ऐतिहासिक तथा पुराना सवारी साधनहरूको प्रदर्शनी ‘भिन्टेज मोटर शो’ पनि अर्को आकर्षण हुनेछ। जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज जस्ता दुर्लभ र ऐतिहासिक गाडीहरू हेर्न पाइनेछ।
यो संस्करण ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिनेछ, जसमध्ये १ लाख ६२ हजार ५ सय वर्गफुटमा प्रदर्शनी क्षेत्र रहनेछ। यो क्षेत्रफलका हिसाबले नेपालको हालसम्मकै सबैभन्दा ठूलो अटो शो हो।
प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपाङ्ग्रे सवारी ब्रान्डहरू, ३५ भन्दा बढी ल्युब्रिकेन्ट, टायर, ब्याट्री र वित्तीय संस्थाहरू, १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्।
आयोजकले एक लाखभन्दा बढी आगन्तुकले शोको अवलोकन गर्ने अपेक्षा गरेको छ।
यसका अलावा शोमा मेड इन नेपाल प्याभिलियन अन्तर्गत स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी, अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन, ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित अन्तरक्रिया दैनिक भाग्यशाली विजेता अन्तर्गत १२ जनालाई एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गरिनेछ।
कार्यक्रमको टाइटल स्पोन्सरमा युनिट्री, को-स्पोन्सरमा शिखर इन्स्योरेन्स र पावर्ड बाईमा क्याम्पा कोला रहेका छन्। यसैगरी, खल्तीले एक्सक्लुसिभ टिकटिङ पार्टनरको रूपमा भदौ २ गतेसम्म अग्रिम टिकट खरिदमा २० प्रतिशत क्यासब्याकको अफर ल्याएको छ।
नाडाका अध्यक्ष करण चौधरीले १६ संस्करणको सफल इतिहास र लाखौं दर्शकको विश्वासले नाडा अटो शोलाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा स्थापित गरिसकेको बताए।
‘यो यात्रामा तपाईंको सहभागिता महत्वपूर्ण छ। नवप्रवर्तन अनुभव गर्नुहोस्, सम्भावनाहरू अन्वेषण गर्नुहोस्’, उनले भने।
आगन्तुकहरूको सुविधाका लागि पार्किङ, फुड स्टल, ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली र सुरक्षाको बलियो प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।
साउन २१, २०८२ बुधबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।