फुल मेम्बरबीचको टी-२०आईमा ‘रिटायर्ड आउट’ हुने पहिलो खेलाडी बने रोस्टन चेस

काठमाडौं : वेस्ट इन्डिजका ब्याटर रोस्टन चेस दुई फुल मेम्बर राष्ट्रहरूबीचको टी-२०आईमा ‘रिटायर्ड आउट’ हुने पहिलो खेलाडी बनेका छन्।
आइतबार पाकिस्तानविरुद्धको निर्णायक खेलमा १९० रनको लक्ष्य पछ्याउने क्रममा उनी ‘रिटायर्ड आउट’ भएका हुन्।
खेलमा वेस्ट इन्डिजले राम्रो सुरूवात गरेको थियो। ओपनर एलिक एथानाजेले ४० बलमा ६० रन बनाएका थिए, तर उनी आउट भएपछि रन गति सुस्त भयो।
१३ ओभरको अन्त्यमा वेस्ट इन्डिजको स्कोर ११०/३ थियो र जितका लागि ४२ बलमा ८० रन आवश्यक थियो।
चौथो नम्बरमा आएका शेर्फान रदरफोर्डले तुरुन्तै रन बनाउन थाले पनि चेसले भने ठूला शट खेल्न संघर्ष गरे। उनले १२ बलमा दुई चौकासहित १५ रन मात्र बनाएपछि उनलाई डगआउटमा फिर्ता बोलाइयो।
त्यसपछि जितका लागि १८ बलमा ४१ रन चाहिएकोमा वेस्ट इन्डिजले २७ रन मात्र बनाउन सक्यो र सिरिज २-१ ले गुमायो।
फुल मेम्बर राष्ट्र सम्मिलित पुरुष टी-२० अन्तर्राष्ट्रियमा यसअघि एक पटक मात्र कुनै ब्याटर ‘रिटायर्ड आउट’ भएका थिए। यद्यपि त्यसमा दुवै टोली फुल मेम्बर थिएनन्।
सन् २०२४ को टी-२० विश्वकपमा नामिबियाका ओपनर निकोलस डेभिन इंग्ल्यान्डविरुद्ध १० ओभरमा १२६ रनको लक्ष्य पछ्याउँदा १६ बलमा १८ रन बनाएर ‘रिटायर्ड आउट’ भएका थिए। बाँकी दश यस्ता घटना एसोसिएट राष्ट्रहरूबीचको खेलमा मात्र भएका छन्।
चेस यसअघि पनि टी-२० मा एक पटक ‘रिटायर्ड आउट’ भइसकेका छन्। यसै वर्षको आईएलटी-२० मा अबु धाबी नाइट राइडर्सबाट खेल्दै उनले एमआई इमिरेट्सविरुद्ध पहिलो ब्याटिङ गरेका थिए।
छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनी १८ औं ओभरको अन्त्यमा १३ बलमा २० रन बनाएर खेलिरहेका बेला उनलाई 'रिटायर्ड आउट' गरिएको थियो।
साउन २१, २०८२ बुधबार १०:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।