पहिलो पटक बंगलादेशमा सिरिज खेल्दै नेदरल्यान्ड्स, सुरूमा नेपाललाई गरिएको थियो प्रस्ताव

पहिलो पटक बंगलादेशमा सिरिज खेल्दै नेदरल्यान्ड्स, सुरूमा नेपाललाई गरिएको थियो प्रस्ताव

काठमाडौं : नेदरल्यान्ड्सले बंगलादेशमा आफ्नो पहिलो द्विपक्षीय सिरिज खेल्ने भएको छ। यसै महिनाको अन्त्यमा नेदरल्यान्ड्सको टोली तीन खेलको टी-२० सिरिजका लागि बंगलादेश भ्रमणमा आउन लागेको हो।

सेप्टेम्बर ९ बाट सुरू हुने एसिया कपको तयारीका लागि बंगलादेशले यो सिरिज गर्न लागेको हो। तालिकाअनुसार, नेदरल्यान्ड्सको टोली अगस्ट २६ मा ढाकामा अवतरण गर्नेछ र त्यसपछि सिलेट प्रस्थान गर्नेछ।

सिलेटमा तीन दिनको प्रशिक्षणपछि अगस्ट ३० मा पहिलो टी-२० खेल हुनेछ। दोस्रो र तेस्रो टी-२० खेल पनि सिलेटमै क्रमशः सेप्टेम्बर १ र ३ मा हुनेछन्। सबै तीन खेल स्थानीय समयअनुसार साँझ ६:०० बजे सुरू हुनेछन्।

भारतले आफ्नो बंगलादेश भ्रमण स्थगित गरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले नेदरल्यान्ड्ससँग यो सिरिज तय गरेको हो। भारतले अगस्ट १७ देखि ३१ सम्म तीन ओडीआई र तीन टी-२० खेल्ने तालिका थियो।

भारतको भ्रमण स्थगन हुँदा बंगलादेश एसिया कपअघि एक महिना अन्तर्राष्ट्रिय क्रिकेटविहीन हुने अवस्थामा थियो। सुरूमा बीसीबीले नेपाल क्रिकेट संघसँग पनि कुराकानी गरेको थियो। तर, नेपाली टोली अष्ट्रेलियामा आयोजना हुने टप एन्ड टी२० मा सहभागी हुने भएपछि बीसीबीले नेदरल्यान्ड्ससँग प्रस्ताव राखेको हो।

नेदरल्यान्ड्सले यसअघि एक पटक बंगलादेशमा खेलेको छ। सन् २०१४ को टी-२० विश्वकपमा उसले आयरल्यान्डविरुद्ध अविस्मरणीय जित हासिल गर्दै मुख्य चरणमा आफ्नो स्थान पक्का गरेको थियो।

बंगलादेश र नेदरल्यान्ड्सबीच अहिलेसम्म पाँच टी-२० खेल भएका छन्, जसमा बंगलादेशले चार खेल जितेको छ। यसअघि सन् २०१२ मा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा बंगलादेशसँग दुई टी-२० खेलको आयोजना गरेको थियो, जुन आसन्न भ्रमणअघि उनीहरूबीचको एकमात्र द्विपक्षीय सिरिज थियो।

साउन २१, २०८२ बुधबार १०:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।