उत्तराखण्डमा रहेको भारतीय सेनाको शिविरमा बाढी पस्दा नौ सैनिक बेपत्ता

एजेन्सी : उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार बादल फाट्दा भारतीय सेनाका नौ जना जवान बेपत्ता भएका छन्। सेनाको शिविरमा बाढी पसेपछि उनीहरू बेपत्ता भएको जानकारी भारतीय सेनाले दिएको छ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसीसँग कुरा गर्दै भने, ‘धरालीको खीर गङ्गामा आएको विनाशकारी भेल र लेदोले मच्चाएको तबाहीपछि भारतीय सेना राहत एवं उद्धार कार्यमा खटिएको छ।’
उनका अनुसार, १४ राजपुताना राइफल्सका कमान्डिङ अफिसर कर्णेल हर्षवर्धन १५० जवानको टोलीसहित राहत तथा उद्धार कार्यको नेतृत्व गरिरहेका छन्।
श्रीवास्तवले थपे, ‘यद्यपि, कर्णेल हर्षवर्धनको आफ्नै युनिट पनि भारी वर्षाबाट प्रभावित भएको छ र उनका नौ जवान अझै बेपत्ता छन्। सेनाको हर्षिलस्थित शिविरमा बाढीको पानी पसेपछि भारतीय सेनाका यी जवानहरू बेपत्ता भएका हुन्।’
प्रवक्ता श्रीवास्तवका अनुसार शिविरमा पानी पसेपछि सुरूमा ११ जना सैनिक बेपत्ता भएका थिए, तर पछि दुई जना सकुशल फेला परेका थिए। बाँकी नौ जनाको खोजी कार्य तीव्र रूपमा जारी छ।
‘भारतीय सेनाको यो टोली नागरिकहरूलाई बचाउनका लागि सक्रिय रूपमा अपरेसनमा जुटेको छ,’ उनले भने, "यस टोलीले अहिलेसम्म २० जनालाई सकुशल उद्धार पनि गरिसकेको छ। राहत कार्यलाई तीव्रता दिन थप सैन्य टोलीहरू पनि पठाइँदै छ।’
साउन २१, २०८२ बुधबार ०९:०२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।