उत्तराखण्डको उत्तरकाशीमा लेदोसहितको भीषण बाढी : चार जनाको मृत्यु, ४० घर बगाउँदा ५० भन्दा बढी मानिस बेपत्ता

एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मंगलबार वर्षापछि भीषण पहिरो र बाढी आएको छ। हर्षिल क्षेत्रको खीर गंगा गदेरा (खोल्सा) मा पानीको सतह अचानक बढेपछि धराली गाउँमा ठूलो जनधनको क्षति पुगेको हो।
उत्तरकाशीका जिल्लाधिकारी प्रशान्त आर्यका अनुसार हालसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि, राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का डीआईजी मोहसेन शाहेदीले प्रारम्भिक जानकारीअनुसार ‘४० देखि ५० घर बगाएको र ५० भन्दा बढी मानिस बेपत्ता भएको’ बताएका छन्।
स्थानीय बासिन्दाहरूले भने विनाशको स्तर निकै ठूलो रहेको र क्षतिको आँकडा अझै बढ्न सक्ने बताएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र स्थितिको गहन निगरानी गरिरहेको बताएका छन्।
प्रत्यक्षदर्शीले के भने?
धराली गाउँकी एक स्थानीय आस्था पवारले बीबीसीसँगको कुराकानीमा यो भयावह घटनाको वर्णन गरेकी छिन्।
आस्था भन्छिन्, ‘म अहिले धरालीमै छु। मेरो घर सडकबाट अलि पर छ, त्यसैले तल कति क्षति भयो भन्ने यहाँबाट सबै देखिँदैछ।’
‘मैले आफ्नै आँखा अगाडि कयौं होटलहरू बगेको देखें,’ उनी भन्छिन्, ‘सबै कुरा एकैचोटि बगेको होइन। पहिलो लहर एकदमै शक्तिशाली र डरलाग्दो थियो। त्यसपछि पनि हरेक १०-२० मिनेटमा लेदो र भग्नावशेषका अरू लहरहरू आइरहे। साना-साना झट्काहरूले पनि एक-दुई गर्दै होटलहरू बगाएर लगिरहेका थिए।’
प्रशासनबाट कुनै पूर्वसूचना थिएन
सरकार वा प्रशासनबाट कुनै पूर्वजानकारी दिइएको थियो कि थिएन भन्ने प्रश्नमा आस्थाले आफूलाई कुनै जानकारी नभएको बताइन्।
‘हामीलाई कुनै चेतावनी दिइएको थिएन। आज विद्यालय पनि बन्द थिएन। यति ठूलो दुर्घटना हुँदैछ भनेर कसैलाई थाहा थिएन। यो घटना दिउँसो भयो,’ उनी भन्छिन्, ‘गाउँका धेरैजसो मानिसहरू एक स्थानीय पूजाको तयारीमा थिए। अगस्ट ४ को रात र ५ को बिहान पूजा थियो। भाग्यवश, यो विपत्ति ४ अगस्टको रातमा भएन, नत्र पूरै गाउँ पूजामा सहभागी हुन्थ्यो।’
कस्तो थियो धराली गाउँ?
धराली चारधाम यात्राको मार्गमा पर्ने एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल हो।
आस्थाका अनुसार, ‘त्यहाँ तीन-चार तले ठूला-ठूला होटलहरू थिए। अहिले तिनको छतसम्म पनि देखिँदैन। बजार पूरै ध्वस्त भयो। धरालीको ठूलो बजार थियो, एउटा विशाल कल्प केदार मन्दिर थियो। अहिले त्यहाँ केही पनि देखिँदैन, सबै तहसनहस भयो।’
हर्षिल उपत्यका नजिकै रहेको र गंगोत्री जाने बाटोमा पर्ने भएकाले तीर्थयात्री तथा पर्यटकहरू धरालीका होटलहरूमा बस्ने गर्थे। घटनापछि हर्षिल उपत्यकाका बगोरी लगायतका गाउँहरू खाली गराइएको छ र मानिसहरूलाई सुरक्षित तथा अग्लो स्थानमा सारिएको छ।
सेनाको उद्धार कार्य र शिविर पनि प्रभावित
विपद् प्रभावित धराली गाउँबाट करिब चार किलोमिटर टाढा भारतीय सेनाको शिविर पनि रहेको छ।
ब्रिगेडियर मन्दीप ढिल्लोंका अनुसार, हर्षिल पोस्टमा तैनाथ सेनाको टोली घटनाको सूचना पाउनासाथ केवल १० मिनेटभित्रै उद्धारका लागि धराली गाउँ पुगेको थियो। हालसम्म करिब २० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ र घाइतेहरूको उपचार भइरहेको छ।
ब्रिगेडियर ढिल्लोंले यस पहिरो र बाढीमा सेनाको शिविर र उद्धार टोलीको एक हिस्सा पनि प्रभावित भएको जानकारी दिएका छन्। उद्धार कार्य हाल पनि जारी छ।
साउन २१, २०८२ बुधबार ०७:५८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।