अटो शोको प्रतिस्पर्धामा नाडा र नाइमा : फरक–फरक बाटो तर समान उद्देश्य

काठमाडौं : सवारीसाधन सम्बन्धी व्यवसायीहरूले नयाँ संस्था गठन गरेसँगै हरेक वर्ष आयोजना हुँदै आएको अटो शो पनि विभाजित भयो। एक समूहले नेपाल अटोमोवाइल इम्पोर्टर्स एसोसिएसन (नाइमा) गठन गरेसँगै उनीहरूले अटो शोको पनि घोषणा गरे। नाइमाले बुधवारबाट अटो शो गर्दैछ। नाडाले भदौ पहिलो साता मिति तोकेको छ।
अलग अलग संस्था भएसँगै दुबैबीच आफ्नो शोलाई भव्य बनाउने प्रतिस्पर्धा समेत देखिन्छ। दुवै संस्थाका नेतृत्वले आ-आफ्नो अटो शो सबैभन्दा ठूलो हुने दाबी समेत गरिरहेका छन्। अटो शोको प्रभावलाई दुवै संस्थाले प्रतिष्ठाको विषय बनाएको देखिन्छ। नाइमाले प्रभाव पार्न नाडाभन्दा अगाडि अटो शो राख्यो। उता नाडाले पनि नाइमाको अटो शो आयोजना हुने अघिल्लो दिन नाडा अटो शोबारे पत्रकार सम्मेलन गर्यो।
परिक्षणकालमा नाइमा
अटो शो नाइमाको पहिलो अनुभव हो। यस अगाडि नाइमामा रहेकाहरू नाडा अटो शोमा सहभागी हुने गरेका थिए। यस पटक भने इम्पोर्टर्सहरु मिलेर संस्था मात्र विभाजित गरेनन् अटो शो पनि विभाजित गरे।
नाइमाको अटो शोमा इलेक्ट्रिक सवारीसाधन र नयाँ बजार प्रवेश गर्न खोजिरहेका ब्रान्डहरूको उपस्थिति देखिन्छ। यसमा विशेषगरी चिनियाँ तथा अन्य वैकल्पिक कम्पनीका आयातकर्ताहरू सहभागी देखिन्छन्।
नयाँ संस्था गठन भएसँगै उनीहरूले नियमित हुँदै आएको नाडा अटो शोभन्दा पहिला आफ्नो अटो शोको मिति तोकेका थिए। नाइमामा सीमित आयातकर्ताहरू संलग्न रहेका छन्। अहिले यसको अध्यक्षमा रितुसिंह वैद्य छिन्। शेखर गोल्छा, सौरभ ज्योति, सुहृदयराज घिमिरे, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल, यमुना श्रेष्ठ र उदयन कावरा रहेका छन्।
यी मध्ये शेखर र सौरभ नाडाको पूर्व अध्यक्ष भएकाले अटो शो आयोजनाको अनुभव छ। नाइमामा अहिले जम्मा १८ जना सदस्य रहेका छन्। केही सदस्य दुबैतिर पनि छन्। नाइमामा रहेकी यमुना उता नाडामा कार्यसमिती सदस्य नै छिन्।
परम्परागत ब्रान्ड र नीतिगत संवादको फोरम
नेपाल अटोमोवाइल डिलर्स एसोसिएसन (नाडा) ले निरन्तर रूपमा हरेक वर्ष नाडा अटो शोको आयोजना गर्दै आएको छ। नाडामा आधिकारिक डिलरहरूसँग आबद्ध पुराना, स्थापित ब्रान्डहरू सहभागी छन्।
नाडा अटो शोमा गाडी प्रदर्शनका लागि मात्र नभई सरकारी नीतिमा प्रभाव पार्ने, कर नीति, सवारी नियम, कर छुट आदिबारे समेत संवाद हुने गरेको छ। संवाद कार्यक्रमलाई यो वर्ष पनि आयोजकले निरन्तरता दिएका छन्। नेपालमा अटोको सुरुवात गरेसँगै निरन्तरता दिन सफल भएकाले नाडासँग आफ्नो अलग ब्रान्ड त छ नै प्रभाव समेत छ।
नाडाको अहिले करण चौधरीले नेतृत्व गरिरहेका छन्। यसमा विभिन्न डिलरहरूसहित ३ हजार २ सय भन्दा बढी सदस्य छन् भने प्रदेश तहसम्म यसको संरचना रहेकाले यो सङ्गठनमा समेत नाइमा भन्दा बलियो देखिन्छ।
साउन २०, २०८२ मंगलबार २३:१२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।