पानीपुरी-चटपटेमा प्रदूषित पानीको जोखिम बढेपछि अनुगमन गर्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले पानीजन्य रोगहरूको बढ्दो जोखिमलाई ध्यानमा राख्दै पानीपुरी, चटपटेलगायत खाद्यवस्तुहरूको अनुगमन अभियान सुरु गरेको छ। विशेषगरी वर्षायाममा सहज रूपमा प्रदूषित पानी प्रयोग हुने सम्भावनाले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यस्तो पहल गरिएको हो।
महानगरको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार खाद्य प्रविधि तथा खानेपानी तथा ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान चलाइनेछ।
उनले पानीपुरी र चटपटेमा प्रयोग हुने पानी प्रदूषित हुन सक्ने हुँदा त्यसले हैजा, झाडापखाला, डेङ्गीजस्ता रोग फैलन सक्ने चेतावनी दिए। साथै, पिउने पानीको गुणस्तर परीक्षणलाई पनि तीव्रता दिइएको उनले जानकारी दिए।
कामपाले पानीजन्य रोग नियन्त्रणका लागि ‘प्लास्टिक र्याप स्टिकर’ टाँस्ने, जार पानी ढुवानीमा हुने त्रुटिहरू सच्याउने, र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि उपभोक्ताको घरसम्म गुणस्तर परीक्षण गरिनेछ। खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कामलाई पनि निरुत्साहित गरिने जनाइएको छ।
कामपाले विद्यालयस्तरमै स्वास्थ्य सचेतना अभियान तीव्र बनाएको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ। प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकिएको र उनीहरूलाई सरसफाइमा सक्रिय बनाइएको कामपाले जनाएको छ।
३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन भइसकेको र नागरिक गुनासो सुन्न ११८० निःशुल्क हटलाइन सञ्चालनमा ल्याइएको छ।
सहरी व्यवस्थापन विभागसँग समन्वयमा अव्यवस्थित निर्माण सामग्री हटाउने, पानी जम्न सक्ने ठाउँमा सरसफाइ गर्ने, र नेपाल रेडक्रस सोसाइटी लगायतका निकायसँग मिलेर नागरिक सचेतना अभियान सञ्चालन गर्ने कामपाको योजना छ।
साथै, कामपाले आफ्ना सबै कार्यालय परिसरमा हरेक शुक्रबार बिहान ९ देखि १० बजेसम्म डेङ्गी बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ।
साउन २०, २०८२ मंगलबार २१:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।