क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा गहिरो सहकार्य बढाइए भूगोल कुनै अवरोध बन्दैन : प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरूलाई समावेशी र साझा जिम्मेवारीसहितको वैश्विक साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न आग्रह गरेका छन्।
मंगलबार तुर्कमेनिस्तानको आवाजामा जारी ‘भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)’ को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरी सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास र प्रविधिको उपयोगमार्फत नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने संकल्प दोहोर्याए।
प्रधानमन्त्री ओलीले संरचनागत चुनौतीका बाबजुद यदि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा गहिरो सहकार्य बढाइयो भने भूगोल कुनै अवरोध बन्न सक्ने बताए। "हामीले सही नीति, बलियो ऐक्यबद्धता र समर्थनको साथ भूपरिवेष्टित अवस्थाबाट व्यापारिक प्रतिस्पर्धी, पारवहन आश्रित अवस्थाबाट सशक्त पारवहन सञ्जाल, र जलवायु जोखिमयुक्त अवस्थाबाट जलवायु अनुकूलन राष्ट्रमा रूपान्तरण गर्न सक्छौं," प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन र प्राकृतिक विपद्को असर सबैभन्दा बढी भूपरिवेष्टित मुलुकहरूमा पर्ने बताए। उनले डिजिटल अर्थतन्त्रतर्फ उन्मुख हुँदै समावेशी तथा अनुकूलनशील आर्थिक वृद्धिको स्पष्ट खाका र दृढ संकल्प आवश्यक रहेकोमा जोड दिए।
उनले बलियो राजनीतिक इच्छाशक्ति, कसैलाई पनि पछाडि नछोड्ने नीति, र सबै तहमा समन्वयपूर्ण कार्य आवश्यक रहेको बताए। "हामीले व्यापार सहजीकरण, पारवहन र यातायात पूर्वाधार विकास, क्षेत्रीय एकीकरण तथा जलवायु अनुकूलन नीति समात्नुपर्नेछ," उनले भने।
प्रधानमन्त्री ओलीले भूगोलले कुनै मुलुकको भविष्य निर्धारण गर्नु हुँदैन भन्दै स्मार्ट लगानी, बलियो साझेदारी र अटल इच्छाशक्तिको माध्यमबाट भूपरिवेष्टितताका सीमितता पार गर्न सकिने विश्वास व्यक्त गरे।
"हामी छिमेकी भारत र चीनसँग कनेक्टिभिटी र सहकार्य बढाउँदैछौं। तिनीसहित अन्तरराष्ट्रिय समुदायको साथ र समर्थनले हामीले भूपरिवेष्टितताको अवरोधलाई अवसरको प्रवेशद्वारमा बदल्न सक्छौं," उनले भने।
नेपाल 'आवाजा कार्यक्रमको कार्यढाँचा' लाई पूर्ण समर्थन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यसँग यसको कार्यान्वयन जोडिने स्पष्ट गरे।
सम्मेलन २३ साउनसम्म चल्नेछ र यसमा विभिन्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू सम्बोधन गरिरहेका छन्। सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओलीले अन्य राष्ट्र तथा अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
साउन २०, २०८२ मंगलबार १८:३९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।