साइबर अपराधको आरोपमा समातिइन् वाइबा, सहकर्मीले दिएका थिए जाहेरी

काठमाडौं : पटक-पटक विवादमा आइरहने शर्मिला वाइबा साइबर अपराधको आरोपमा मंगलबार पक्राउ परेकी छिन्। उनी यस अगाडि यस्तै अभियोगमा दुई पटक पक्राउ परेर अदालतबाट धरौटीमा छुटेकी थिइन्। उनकै सहकर्मीले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा पोखरामा गएकी वाइबा त्यतै पक्राउ परिन्। ब्युरोका अनुसार उनी विरुद्ध साउन १६ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
पोखरामा प्रहरीले पक्राउ गरेर उनलाई काठमाडौं पठाउँदैछ। उनको सहकर्मीले जाहेरी दिएको भनिए पनि विस्तृत कारण भने खुलाइएको छैन। सामाजिक अभियन्ता दाबी गर्दै आएकी वाइबाले सामाजिक सञ्जाल अनि युट्युब लगायतमा चरित्रहत्या गर्ने गरी लेख्ने र बोल्ने गर्दा यस अगाडि पक्राउ परेकी थिइन्। दुई वटा मुद्दामा धरौटीमा छुटेकी उनी विरुद्ध कुटपिटको अभियोग समेत लागेको थियो।
केही महिना अगाडि उनी आफ्नै साथीबाट कुटिएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनको जाहेरीका आधारमा शर्मिला श्रेष्ठ पक्राउ परेकी थिइन्।
साउन २०, २०८२ मंगलबार १८:३४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।