भारतको उत्तराखण्डमा आयो भीषण 'आकस्मिक बाढी', दर्जनौं मानिसहरू फसेको आशंका

भारतको उत्तराखण्डमा आयो भीषण 'आकस्मिक बाढी', दर्जनौं मानिसहरू फसेको आशंका

एजेन्सी : भारतको उत्तराखण्ड राज्यमा परेको तीव्र वर्षापछि आएको भीषण बाढीले एक गाउँ बगाउँदा दर्जनौं मानिसहरू हराएको आशंका गरिएको छ।

सामाजिक सञ्जालमा आएका भिडियोहरूमा भीषण बाढीले धेरै घरहरू बगाएको देखिन्छ। धनाली नामक नदी किनारको गाउँमा आएको आकस्मिक बाढीले ठुलो क्षति पुर्याएको बताइएको छ।

बाढीमा हालसम्म चार जनाको मृत्यु भएको छ भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेपनि हालसम्म मानवीय क्षतिको पुष्टि भने नभएको स्थानीय अधिकारीहरूले बताएका छन्। भौतिक सम्पत्तिमा पनि व्यापक क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। 

 स्थानीयबासीहरूका अनुसार करिब १० देखि १२ जना मानिस भग्नावशेषमा च्यापिएको आशंका गरिएको छ। करिब २५ वटा होटल र होमस्टे पनि नष्ट भएको अनुमान गरिएको छ। उत्तराखण्डका मुख्यमन्त्रीले उद्धार तथा राहत कार्यहरू भइरहेको बताएका छन्।

उत्तराखण्ड हिमाली भूभागमा पर्ने भएकाले यहाँ यस्ता घटना बारम्बार दोहोरिने गर्छन्। 

साउन २०, २०८२ मंगलबार १८:०३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।