चार स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिस्टमा, वीपीका लागि ६ जनासहित छानिए डा. रामेश

काठमाडौं : स्वास्थ्य मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपतिका आवेदकमध्ये २४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको छ। ५५ जनाले आवेदन दिएकोमा मंगलबार प्रत्येक प्रतिष्ठानका आवेदकमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जनाको दरले २४ जनाको नाम सार्वजनिक गरेको हो।
चार प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि मन्त्रालयले असार ४ मा आवेदन आह्वान गरेर सर्च कमिटी गठन गरेको थियो। तर सत्ताधारी दल एमाले र नेपाली कांग्रेसबीच २-२ प्रतिष्ठानको भागबन्डा मिले पनि कुन प्रतिष्ठानमा कुन दलको सिफारिसमा उपकुलपति नियुक्त हुने विषयमा सहमति हुन नसक्दा नियुक्तिको प्रक्रिया नै रोकिएको थियो। प्रारम्भमा पोखरा र पाटनमा एमाले र कर्णाली र बिपीमा कांग्रेसको सिफारिस अनुसार नियुक्त गर्ने सहमति भएको थियो। तर कांग्रेसले पोखरामा दाबी गरेपछि एमालेले मानेको थिएन।
सार्वजनिक सूची अनुसार वीपी र कर्णाली कांग्रेस र पोखरा र पाटन एमालेको भागमा परेको देखिन्छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा कृष्ण कुमार राई, प्रा.डा. पशुपति चौधरी, प्रा.डा प्रह्लाद कार्की, प्रा.डा विक्रम प्रसाद श्रेष्ठ र प्रा.डा. रामेश राज कोइराला, प्रा.डा सृजना श्रेष्ठ अन्तर्वार्ताका लागि छानिएका छन्। छानिएकामध्ये कोइराला र कार्की उपकुलपतिका दाबेदार हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा अर्जुन आचार्य, प्रा.डा. चण्डिका पण्डित, प्रा.डा नारायण सिंह गुरुङ, प्रा.डा विधाननिधि पौडेल, प्रा.डा. भरत बहादुर खत्री र प्रा.डा माया लामा छानिएका छन्।
कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सह.प्रा.डा एलिजा श्रेष्ठ, सह.प्रा.डा डबल धामी, डा. पवनजंग रायमाझी, सह.प्रा.डा. पूजन कुमार रोकाया, प्रा.डा श्रीकृष्ण गिरी, प्रा.डा सूर्यमान मेन्यान्ग्वो छानिएका छन्। पाटनका लागि प्रा.डा. गेहनाथ बराल, डा. दीपक थापा मगर, प्रा.डा. पवन कुमार शर्मा, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा बुद्धि प्रसाद पौडेल, प्रा.डा सृजना श्रेष्ठ छानिएका छन्।
सर्च कमिटीमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा.विकास देवकोटा र योजना आयोगका सदस्य डा.आरपी बिच्छाले ६ जनाको अन्तर्वार्तामार्फत ३ जना छानेर १२ जनाको नाम प्रतिष्ठानको कुलपति रहेका प्रधानमन्त्री केपी ओली समक्ष पेस गर्नेछ। सार्वजनिक सूचना अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण लागि साउन २२ र २३ गते मिति तोकिएको छ। अन्तर्वार्ताको आधारमा उपकुलपतिको चयन हुनेछ।
साउन २०, २०८२ मंगलबार १६:५६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।