उद्यमशील टोलमा ‘राइस डक टेक्नोलोजी’ले ल्याएको क्रान्ति : धान खेतमै हाँस पालन, थोरै खर्चमा धेरै फाइदा

उद्यमशील टोलमा ‘राइस डक टेक्नोलोजी’ले ल्याएको क्रान्ति : धान खेतमै हाँस पालन, थोरै खर्चमा धेरै फाइदा

बुटवल : विद्यावारिधिका क्रममा चीन पुगेका रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० उद्यमशील टोलका डा. दामोदर भुसालले नयाँ शैलीमा हाँस पाल्ने गरेको देखे। धान रोप्ने अनि त्यही खेतमा हाँस चराउने। यसलाई  ‘राइस डक टेक्नोलोजी’ प्रविधि भन्ने बुझेका उनी जव नेपाल फर्किए उनले पनि यहाँ यही प्रविधीको प्रयास गरे।

५ वर्ष अघि ८ सय हाँसलाई धान खेतमा पाल्न सुरू गरेका उनले।यो प्रविधिलाई आफूमा मात्र सीमित बनाएनन्, तिलोत्तमामा नै  ‘राइस डट टेक्नोलोजी’ प्रविधिलाई अघि सारे।

यो प्रविधीमा चल्ला प्रजननपछि, हाँसहरूलाई धान रोपेको १५-२० दिनदेखि, काट्नुभन्दा एक महिना अघिसम्म खेतमा चर्न दिइन्छ। हाँसहरू दैनिक ५-६ घण्टा धानखेतमा बस्छन्। त्यहीँ चर्छन्। धान पनि गोडमेल हुने, हाँस पनि चर्ने।

'धान खेतमा हाँस पालन एक एकीकृत खेती प्रविधि हो। साना कृषकहरूले कम लागतमा प्राङ्गारिक धान उत्पादन मात्र होइन हाँस समेत पालन गर्न सक्छन्’ भुसालले भने।

यो प्रविधीले हाँसले कीरा, फट्याङ्ग्रा, गाड्यौला तथा विभिन्न झारपात खाने भएकाले खेत सफा हुने र माटोलाई उर्वर पनि बनाउने उनले बताए। खेतमा हाँसलाई धान गोड्ने खेतालाका रूपमा प्रयोग हुने भएकाले धान गोडिरहनु नपर्ने, हाँसको मलमूत्रले जमिन उर्वर हुने हुँदा खेतीमा रासायनिक मल र विषादीको प्रयोग समेत गर्न नपर्ने र हाँस धान खेतमै हुने भएकाले २० प्रतिशत धान उत्पादन बढ्ने उनले सुनाए। 

उनको सिको गर्दै तिलोत्तमा वडा नं. १० का घनसिंह पुन, राम बहादुर पुनले पनि धान खेतमा हाँस पालेका छन्। कृषक रामबहादुर पुनले ४ वर्ष देखि नियमित धान खेतमा हाँस फाल्दै आएको र यसरी हाँस पाल्दा राम्रो आम्दानी गर्न सकेको बताए।

‘हाँस धान खेतमा पाल्दा दाना कम लाग्छ। सानो क्षेत्रफलमा पनि सजिलै पाल्न सकिने भएकाले थौरै आम्दानी भएकाले पनि  पाल्न सक्छन्। लागत पनि कम लाग्छ’ उनले भने।

दामोदर, घनसिंह, रामबहादुर मात्र होइन उद्यमशील टोल सहितका २०५ परिवारले करिब साढे २ बिघा खेतमा हाँस पालिरहेका छन्। इनोभेसन कृषि फर्मकी सञ्चालक विष्णु कँडेल भुसालले टोलवासीलाई उत्पादन र आयआर्जनमा जोड्न यो अभियान नगरभित्र विस्तार गरेको बताए।  

‘अहिले धान खेतभित्र हाँस पालन भएपनि यसलाई एकीकृत कृषि प्रणाली जस्तै मकै-हाँस, फुल-हाँस, तथा लहरे तरकारी बारीमा पनि एक साथ पालन गर्न सकिन्छ,’ उनले भनिन्।

अभियानका अगुवा डा. दामोदर खनालले बङ्गलादेशमा हाँस पालनबाट भएको आर्थिक क्रान्तिको उदाहरण दिँदै यो नेपालमा पनि सम्भव रहेको बताए।

‘यसबारे सरकारले राम्रोसँग अनुसन्धान नै गरेको छैन। सरकारले चल्ला आपूर्ति नियमितका लागि सुनिश्चितता, घरेलु दाना बनाउने मेसिन तथा तालिमको उपलब्धता र खोर तथा तारजाली निर्माणमा सरकारले अनुदान दिने हो भने यसलाई अझ विस्तार गर्न सकिन्छ,’ उनले भने।

सामान्यतः एक किसानले २५ वटा हाँस पाल्दा ३ महिनामा करिब ८ हजार रुपैयाँ खर्च हुन्छ। आम्दानी न्युनतम् ३० हजार हुन्छ। दाना र पालन खर्च कटाउँदा समेत १५ देखि २० हजार आम्दानी हुने देखियो। 

हाँस पालनलाई व्यवसायीक बनाउन स्थानीय सरकारको पनि साथ

परम्परागत हाँस पालनलाई व्यवसायीक बनाउने र पोषण सुधार कार्यक्रम एवं हाँस प्रबर्द्धन कार्यक्रम तिलोत्तमा नगरपालिकाले पनि गरिरहेको छ। गएको वर्ष मात्र नगरपालिकाले यो अभियान अन्तर्गत २ हजार ८० हाँसको चल्ला वितरण गरेको थियो।

तिलोत्तमा नगरपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रममै राखेर किसानलाई धान खेतमा हाँस पालन गर्ने गरि चल्ला वितरण गरिएको र यो वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिइएको नगरप्रमुख रामकृष्ण खाँणले बताए।

त्यस्तै स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला र तिनीहरूलाई प्रथम चरणमा पुग्ने दाना समेत निःशुल्क दिइएको नगर प्रमुख खाँणले बताए। धान खेत भित्रै हाँस पालन गर्दा स्थानीयको जीवनस्तर उकास्न र यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ स्वाद दिन सकिने उनको भनाइ छ।

पछिल्लो समय स्वास्थ्यका हिसाबले पनि हाँसको मासु तथा अण्डाको माग बढ्दै गएको छ। अहिले नगरभित्र उत्पादन भएका हाँसलाई जिउँदो ४ सय देखि ४५० रुपैयाँ प्रतिकेजीका दरले किसानले बिक्री गर्दै आएका छन्। 

साउन २०, २०८२ मंगलबार १६:२४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।