दाइजोको बहानामा पटक-पटक कुटिएकी सम्झना घरमै मृत भेटिएपछि श्रीमान र सासू-ससुरा पक्राउ

दाइजोको बहानामा पटक-पटक कुटिएकी सम्झना घरमै मृत भेटिएपछि श्रीमान र सासू-ससुरा पक्राउ

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ की १७ वर्षीया सम्झना भट्ट झुण्डिएको अवस्थामा घरमै मृत भेटिएको घटनापछि प्रहरीले उनका श्रीमान् र सासूससुरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई नियन्त्रणमा लिइएको हो। माइती पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले पवनलाई आइतबार नै पक्राउ गरेको थियो भने पछि सासू र ससुरालाई पनि पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिए।

“आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएका छौँ,” डीएसपी बोहराले भने। उनका अनुसार पवनलाई पाँच दिनको म्याद लिएर थुनामा राखिएको छ।

सम्झना आइतबार आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले श्रीमान् र उनका परिवारले दाइजोको बहानामा पटक-पटक कुटपिट र मानसिक यातना दिने गरेको आरोप लगाएका छन्। यही कारणले आत्महत्या गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

करिब छ महिनाअघि मात्रै सम्झना र पवनको प्रेम विवाह भएको थियो। प्रहरीका अनुसार शनिबार दुवैबीच झगडा भएको र त्यसपछि उनीहरू बेलडाँडी प्रहरी चौकी पुगेका थिए। त्यहाँबाट सम्झाई-बुझाई गरेर दुवैलाई घर पठाइएको थियो। तर, भोलिपल्ट बिहान सम्झना मृत भेटिइन्।

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २०, २०८२ मंगलबार १५:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।