बहुविवाह सम्बन्धी कानुनमा खराब कुराहरू आउँछन् भन्ने आशंका नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा खराब कुराहरू आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे।
उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा भएका छन्। ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ आज हामीले यही निर्णय गरेका छौं। यसलाई हामी संशोधन गर्छौं। देश र जनताको हितमा बनाउँछौं। त्यसैले कानुनमा केही खराब कुराहरू आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ।’
त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए।
यो बहुविवाह सम्बन्धित व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानामा माफी तथा परिवर्तन सम्बन्धी व्यवस्थाहरूमा थप छलफल गरी यसलाई संशोधन र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा उपसमिति गठन गरेको उनले बताए।
उनका अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई हामीले संसोधन परिमार्जन गर्नेछ।
साउन २०, २०८२ मंगलबार १३:५९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।