नाइमा मोबिलिटी एक्सपो २०२५ मा सेगवेले चार नयाँ विद्युतीय मोडल सार्वजनिक गर्ने

नाइमा मोबिलिटी एक्सपो २०२५ मा सेगवेले चार नयाँ विद्युतीय मोडल सार्वजनिक गर्ने

काठमाडौं : सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ मा सेगवेका चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।

राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २२ देखि २६ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँचदिने एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेगवेका नयाँ मोडलहरू प्रमुख आकर्षण बन्ने कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडलहरूमा दुई ई-स्कुटर, एक ई-बाइक र एक ई-साइकल समावेश छन्। यी मोडलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएका छन्।

सेगवे E150 M-2: यसमा ७५०० वाटको मोटर र दुईवटा १४९९ वाट-आवरका ब्याट्री रहेका छन्। यसले अधिकतम ९० किमि/घन्टाको गति लिन सक्छ र एक पटकको चार्जमा ७५ देखि १२० किमिको रेन्ज प्रदान गर्छ।

सेगवे E125 M-2: यसमा ३६०० वाटको मोटर र १४९९ वाट-आवरको ब्याट्री रहेको छ। यसले ७० किमि/घन्टासम्मको गति र ६० देखि १०० किमिको रेन्ज दिन्छ।

सेगवे Xyber (ई-बाइक): यसमा ३००० वाटको हब मोटर र १४४० वाट-आवरको लिथियम ब्याट्री जडान गरिएको छ। यसले अधिकतम ३२ किमि/घन्टाको गतिमा ७७ किमि सम्मको रेन्ज प्रदान गर्छ। यो मोडल दैनिक यात्रा र हल्का साहसिक यात्रा दुवैका लागि उपयुक्त मानिन्छ।

सेगवे Xafari (ई-साइकल): यसमा ७५० वाटको मोटर र ९१३ वाट-आवरको ब्याट्री छ। यसले अधिकतम ३२ किमि/घन्टाको गति र ५८ किमि सम्मको रेन्ज दिन्छ। साथै, यसमा रहेको २५ केजीको रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा छ।

यी चार मोडलको लन्चसँगै नेपालमा सेगवेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने विश्वास लिइएको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्दै नेपाली यात्रीहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ।

भोलि (अगस्ट ६) देखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सेगवेका यी नयाँ मोडलहरू यस वर्षको प्रमुख आकर्षणमध्ये एक हुने निश्चित छ। यी मोडलहरूको मूल्य र उपलब्धताको जानकारी भने एक्सपोकै क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।

साउन २०, २०८२ मंगलबार १३:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।