पाँच दिनदेखि हराएका दाजु-बहिनी पाँचथरको खोलामा मृत फेला

पाँच दिनदेखि हराएका दाजु-बहिनी पाँचथरको खोलामा मृत फेला

पाँचथर : पाँचथरको याङवरक गाउँपालिका-१, च्याङथापुबाट पाँच दिनदेखि हराइरहेका एक दाजु-बहिनीको शव खोलामा फेला परेको छ।

नौ वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान स्थानीय विरुवा खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

गत शुक्रबार बिहान हजुरबुबा-हजुरआमाको घर जान भनी हिँडेका उनीहरू सोही दिनदेखि सम्पर्कविहीन भएका थिए। गाउँकै पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत शिशिर र नानुमा हराएपछि परिवार र स्थानीयवासी चिन्तित बनेका थिए।

बालबालिका हराएको खबर पाएलगत्तै प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय र स्थानीय बासिन्दा खोजीमा जुटेका थिए। लगातार पाँच दिनको खोजीपछि मंगलबार बिहान खोला किनारमा उनीहरूको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, डीएसपी कौशल कुमार बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानले खोलाले बगाएको देखाएको छ।

‘घटनाको प्रकृति हेर्दा खोलाले बगाएको देखिन्छ, यद्यपि हामी थप अनुसन्धान गरिरहेका छौं’, उनले बताए।

दुई बालबालिकाको शव एकैसाथ भेटिएपछि च्याङथापु गाउँ शोकमा डुबेको छ।

साउन २०, २०८२ मंगलबार १३:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।