चेलीको पीडा

सुस्तरी पखेटा फट्फटाएर
आकाशमा वेग मार्दै
कावा खाँदै
चरी, जाउ तिमी
बिरानो मुलुक बनेको
मेरो माइती छेउ
म चेलीको खबरहरू सुनाउन।
जाउ र भन प्रिय चरी
तिम्रो चेलीलाई भेटेको थिएँ
दाउराको भारी बिसाउँदै गरेको चौतारीमा
मेरो हात हेरेर जाउ चरी
र सुनाइ देउ
हातमा ठेलै ठेला उठेका थिए।
रहरको एक थुङ्गा गुराँस
वर्षौं भयो रे नसिउरिएको चुल्ठोमा
रहर गर्दैथी गुराँस सिउरन
एक थुङ्गा गुराँस लिएर जाउ भन
मेरो प्यारो चरी
पर परायको घरमा
बुर्हातन खेप्दैथी भन
रोएर आँसुले मन पखाल्छे
बिरह भाखा सल्लेरी वनमा सुसाउँछे
विरह भाखा सुन्ने गरी
तिम्रो चेलीलाई भेटेर आउ भन।
मेरो दशैं तिहार फुङ्ग उडेको हुन्छ
मेरो मन खङ्ग्रङ्ङ डडेको हुन्छ
लैजाउ, सुनाइ देउ चरी
यसपालिको तिहारमा
भाइ आओस जसरी पनि
तिम्रो चेली माला गाँसी राख्छे रे भन
मेरो इज्जत
दश ठाउँ च्यातिएको छ
दश ठाउँ टालेको गुन्यु र चोलो लगाएकी थी भन।
चरी, जाउ तिमी
पुर्याइदेउ मेरा वेदनाहरू
थाप्लो कुच्चिएको छ नाम्लाका डोवहरुले
भाँडा माझ्दा माझ्दा
खिया उठिसकेका छन हातका नङहरू
ढिकी कुट्ता कुट्ता
ठेला उठेका छन पैतालामा पनि भन
चरी सुनाइदेउ खबरहरू
सासु खटन खटाउँछिन
लोग्ने जाँड धोकेर आउँछन
नन्द, आमाजू कुट्न झम्टन्छन
म बुहारी
जूठो, पूरो, पनि चाट्नु पर्छ
बचन लगाएको सहनै पर्छ
बोल्न हुँदैन मैले
चोथाले भन्छन मलाई।
लैजाउ, सुनाइदेउ
तिम्रो चेलीको कोमल मन
पग्लिएर आँसु बन्दैछ भन
तिम्रो चेली भौतारिएर
दुःखको सागर थेग्न नसकी
मृत्युको बाटो खोज्दै छे भन।
उसको जीवन अध्याँरोले ढाकेको छ
उसलाई उज्यालो चाहिएको छ भन
उ बाँच्न चाहन्छे
जाउ र भन चरी
तिमी जानु पर्छ
उ तिम्रै बाटो हेरी बसेकी छे भन
जाँदा तिम्री चेलीको निम्ति
एक मुठी प्रकाश लिएर जाउ भन
अन्याय सहेर कति दिन बाँच्ने होला?
न्यायको तराजु पनि सँगै लिएर जाउ भन।
साउन २०, २०८२ मंगलबार १२:३६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।