धरौटीमा रिहा भएपछि दुर्गा प्रसाईंले भने- ‘गणतन्त्रकै कारण नेपाली विदेशिनुपर्यो, अब तस्करको गुलाम नबनौँ’

काठमाडौं : राजवादी आन्दोलनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भए।
चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परी जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षका लागि थुनामा पठाइएका प्रसाईंले रिहा भएलगत्तै एटीपी खबरलाई दिएको अन्तर्वार्तामा गणतन्त्र, आफ्नो जेल अनुभव र पारिवारिक पीडाका बारेमा मुख खोलेका छन्।
उनले आफू गणतन्त्र ल्याउनकै लागि छ महिना सैनिक हिरासतमा बसेको स्मरण गर्दै अहिले यही व्यवस्थाका कारण नेपाली नागरिक विदेशिन बाध्य भएको र देश तस्करको हातमा पुगेको आरोप लगाएका छन्।
‘आज यो गणतन्त्रको कारणले सारा नेपाली नागरिक विदेशिनुपरेको छ। तस्करहरुको हातमा देश पुग्यो’, प्रसाईंले भने।
आफ्नो लडाइँका कारण परिवारले समेत दुःख पाएको बताउँदै उनले श्रीमती र छोराछोरीलाई बैंकिङ कसुरको मुद्दा लगाइएकोमा आक्रोश व्यक्त गरे।
‘एमडी गरेर १२ गते विदेशबाट नेपाल आएकी मेरो छोरीलाई समेत बैंकिङ कसुरको मुद्दा छ। उसको के गल्ती थियो? मेरो छोरा डाक्टर छ, उसको के गल्ती भयो र उसलाई बैंकिङ कसुरको मुद्दा लगाइयो?’, उनले प्रश्न गरे।
जेल बसाइलाई 'विश्वविद्यालय'को संज्ञा दिँदै प्रसाईंले त्यहाँ धेरै कुरा सिक्न पाएको बताए।
‘जेलमा पनि छुट्टै संसार रहेछ, एउटा विश्वविद्यालयजस्तो रहेछ। त्यहाँ पनि धेरै ठूलो अनुशासन रहेछ,’ उनले भने, ‘जेलमा भएका साथीहरू आज मलाई छोड्दा रुनुभयो। म जस्तो मान्छे जेल जानु पनि पर्दो रहेछ।’
उनले नेपाली जनतालाई जागरुक हुन आग्रह गर्दै अब पनि नजागे ‘तस्करको गुलाम’ हुनुपर्ने अवस्था आउने चेतावनी दिए।
‘अब पनि तपाईंहरु जाग्नुभएन भने हिजो राजाको रैती भन्नुहुन्थ्यो, आज तस्करको गुलाम हुनुहुँदैछ’, उनले भने।
प्रसाईंले न्यायपालिकाप्रति आफ्नो विश्वास कायमै रहेको समेत बताए।
‘काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि जेल जाँदै गर्दा पनि मैले श्रीमान्लाई धन्यवाद नै दिएर गएको थिएँ। आज छुट्दै गर्दा पनि मैले न्यायाधीशलाई धन्यवाद नै दिएँ। न्याय मरेको छैन भन्ने देखियो’, उनले भने।
उनले अदालतमा न्यायाधीशसमक्ष ‘राजनीतिले देश बिगारेका बेला सेना र अदालतले खुट्टा टेक्नुपर्छ’ भनेको पनि बताए।
आफ्नो मनोबल उच्च रहेको दाबी गर्दै उनले सत्यको सधैँ जित हुने बताए।
‘दुर्गा प्रसाईंलाई जेल पुर्याएपछि सकियो भन्ने लागे पनि सत्य सधैँ अल्पमतमा हुन्छ। सत्य कहिल्यै पनि भीडमा हुँदैन। अन्तिममा सत्यकै विजय हुन्छ’, उनले दृढता व्यक्त गरे।
आफ्नो रिहाइलाई दैवी कृपाको रूपमा व्याख्या गर्दै उनले भने, ‘मैले राति सपनामा शिवजीको लिंगमा बेलपत्र र पानी चढाएको देखेको थिएँ। बिहान उठेर जेलभित्रको मन्दिरमा पानी चढाएँ। साउनको सोमबार शिवजीको कृपा ममाथि भयो।’
अन्त्यमा उनले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई व्यंग्यात्मक रूपमा धन्यवाद दिँदै आफ्नो मनोबल नटुटेको बताए। उनले केही समयपछि पत्रकार सम्मेलन गरेर आफ्ना थप कुराहरु सार्वजनिक गर्ने जानकारीसमेत दिए।
साउन २०, २०८२ मंगलबार ०८:५२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।