स्वदेश फर्किएपछि रवीन्द्रले भने- यत्रो माया गर्ने दर्शक हुनुहुन्छ, अझै धेरै राम्रो गर्नेछु

काठमाडौं : भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)-१७ मा बान्टमवेट च्याम्पियन बनेका नेपाली फाइटर रवीन्द्र ढाँट स्वदेश फर्किएका छन्।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी काठमाडौं आइपुगे। विमानस्थलमा दर्जनौं समर्थक र फ्यानहरुले उनको भव्य स्वागत गरे।
स्वागतपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मैदानमा छिरेपछि डर आफैँ हराउँछ। भित्र पस्नेबित्तिकै लड्नुपर्छ, जसरी भए पनि जित्नुपर्छ भन्ने सोच बनाएको थिएँ।’
ढाँटले दर्शक र समर्थकप्रतिको आभार प्रकट गर्दै अझ उत्कृष्ट खेल प्रस्तुत गर्ने अठोट गरेका छन्। ‘सरकारलाई केही भन्नु छैन,’ उनले भने, ‘यत्रो माया गर्ने दर्शक हुनुहुन्छ। तपाईंहरूकै लागि अझै धेरै राम्रो गर्नेछु।’
आइतबार राति भएको खेलमा उनले भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने गौरव हासिल गरेका थिए। उनी यो उपाधि जित्ने पहिलो नेपाली बनेका छन्।
यो जितसँगै ढाँटको व्यावसायिक रेकर्ड ८-१ मा सुधारिएको छ भने कोरेनको पाँच लडाइँको जितको श्रृंखला पनि उनले तोडेका छन्।
साउन १९, २०८२ सोमबार २१:०८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।