‘टप एन्ड टी-२० सिरिज’का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं : अस्ट्रेलियाको डार्बिनमा हुने ‘टप एन्ड टी-२० सिरिज’का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
१६ सदस्यीय टोलीमा पुराना अनुहारहरूको बाहुल्यता देखिएको छ। रोहित कुमार पौडेलले टोलीको कप्तानी सम्हाल्नेछन् भने उपकप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरि रहनेछन्।
नेपालले अस्ट्रेलिया भ्रमण अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीस्वरूप गर्न लागेको हो।
सिरिजअन्तर्गत नेपालले आफ्नो पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकर विरुद्ध खेल्नेछ। त्यसपछि बंगलादेश ‘ए’ विरुद्ध १६ गते, मेलबर्न स्टार्ससँग १८ गते, होबर्ट हुरिकेन्ससँग १९ गते, पुनः मेलबर्न स्टार्ससँग २० गते, र पाकिस्तान साहिन्ससँग २२ अगस्टमा खेल्ने तालिका छ।
अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ।
अस्ट्रेलिया भ्रमण टोलीमा रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल,आसिफ सेख,कुशल मल्ल,गुलशन झा,आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित नारायण राजवंशी रहेका छन्।
साउन १९, २०८२ सोमबार २०:०४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।