माओवादी केन्द्रले विप्लव लगायतका क्रान्तिकारी शक्तिसँग एकता प्रयास गर्ने

माओवादी केन्द्रले विप्लव लगायतका क्रान्तिकारी शक्तिसँग एकता प्रयास गर्ने

काठमाडौं : माओवादी केन्द्रले नेत्र विक्रम चन्द (विप्लव) लगायतका क्रान्तिकारी शक्तिसँग एकता प्रयास अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा सक्रिय रहने निर्णय गरेको छ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीको स्थायी कमिटी बैठकले विगतमा भएका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको हो।

पार्टी स्थायी कमिटीको साउन १६ गतेदेखि सुरु भएको बैठक आइतबार सम्पन्न भएको हो। बैठकले अत्यधिक वर्षाका कारण स्थगित गरिएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यस अभियानलाई माओवादीले संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणको माध्यमका रूपमा लिँदै आएको छ।

बैठकमा पार्टीको २०७९ सालको राष्ट्रिय महाधिवेशनको कार्यतालिका अनुसार दसैंपछि केन्द्रीय समिति बैठक बोलाइने र त्यस बैठकबाट महाधिवेशनको मिति तय गरिने निर्णय पनि भएको छ। प्रवक्ता सापकोटाले बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए।

उनका अनुसार बैठकले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउने, पार्टी हितविपरीत निजी स्वार्थमा आधारित गुटगत गतिविधिको अन्त्य गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।

साथै, प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढतापूर्वक उभिनु पर्ने र सामाजिक-आर्थिक रुपान्तरणसहितको समृद्धि नै राष्ट्रिय कार्यभार भएको निष्कर्षमा पार्टी पुगेको छ। त्यसका लागि संगठन रूपान्तरण र पुनर्गठनलाई थप सशक्त बनाउने निर्णय पनि गरिएको प्रवक्ता सापकोटाले बताए।

बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायजस्ता विषयमा समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक गर्दै सत्तारूढ गठबन्धनभित्रै खबरदारी पनि गरेको छ।

साउन १९, २०८२ सोमबार १९:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।