जनार्दन शर्माले पार्टी बैठकमा भने 'पार्टी छाडेर नि जान्न, आत्मालोचना नि गर्दिन'

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकमा आत्मालोचना पनि नगर्ने र पार्टी छाडेर पनि नजाने बताए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व विरुद्ध सार्वजनिक रूपमा आलोचना गरेकोमा गलत गरेको अनुभव भएको छ भने आत्मालोचना गर्न पार्टी बैठकमा भनेपछि उनले कमजोरी गर्ने सबैका हकमा एकै नियम लागु हुनुपर्ने भन्दै आफूले सही बोलेकाले आत्मालोचना नगर्ने बताए।
सोमबारको बैठकमा प्रचण्ड नरम सुनिएका थिए। उनले आत्मसमिक्षा गरेर आत्मालोचना गर्दै स्थायी समितिका नेताहरूको मान राख्न जनार्दनलाई अनुरोध गरेका थिए। बैठकमा प्रचण्ड पक्षका नेताहरूले यस अगाडि बोल्नेक्रममा जनार्दनले आत्मालोचना गर्नुपर्ने बताएका थिए।
तर जनार्दन आत्मालोचनाका लागि तयार भएनन्। उनले आफूले पार्टीको कमजोरीबारे जायज प्रश्नहरू उठाएको र ती प्रश्नहरू अहिले पनि उस्तै रहेको भन्दै आफ्नो केही कमजोरी भए त्यसको जिम्मा लिन तयार रहेको तर अन्यले पनि आफ्नो कमजोरीको जिम्मा लिनुपर्ने अडान राखेका थिए। उनले जायज प्रश्नहरू उठाउँदा पार्टी अध्यक्ष प्रचण्डले नै पार्टी फुटाएर जान्छ भनेर प्रचार गरेको भन्दै आफू पार्टी छाडेर नजाने बताए।
साउन १९, २०८२ सोमबार १८:४०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।