देवबहादुरबाट गुलाबी बनेका नाजिरले दर्शकलाई हलसम्म तान्लान् त?
काठमाडौं : जन्मदाको लैङ्गिक पहिचान, जात, धर्म, परिवार कसैले रोज्ने विषय हैन। यसमा जन्मिनेको कुनै निर्णय हुन्न। तर जब हुर्कँदै जान्छन् आफूले नगरेको निर्णयको प्रताडना उनीहरूले नै भोग्छन्। जन्मँदा उनीहरूले जे-जे निर्णय गर्न पाउँदैनन् जीवनभर भारी भने त्यसैको बोक्नु पर्छ। तर यसलाई न हाम्रो समाजले गम्भीर रूपमा लियो न त कला क्षेत्रले।
त्यसैले त लामो समयदेखि यौनिक अल्पसङ्ख्यक समुदायका पात्रहरू नेपाली कला क्षेत्रका लागि हास्य रसका रूपमा प्रयोग गरियो। ठमेलको सडकमा उभिने, कुनै केटा वा केटी देख्नै नहुने पछि लागिहाल्ने, उटपट्याङ व्यवहार गर्ने।
फिल्ममा देखाइने यस्तै दृश्यहरूले समाजमा उनीहरूको यस्तै छवि बन्यो। एकातिर पहिचानको लडाई छँदैछ। कला क्षेत्रले त्यो लडाइँलाई सहजीकरण हैन झन् जटिल बनाइदियो। केही-केही फिल्म निर्माणमा संलग्नहरूले समाज जस्तो छ हामीले देखाउने त्यस्तै त हो नि भनेको पनि नसुनिने हैन।
तर जुन समाजको जुन पात्रको चित्रण गरिन्छ नि के त्यो समुदायका सबैको व्यवहार एकै हुन्छ त? हो, यौनिक अल्पसङ्ख्यकका केही सदस्यहरू जीविकोपार्जनका लागि ठमेलको सडकमा नउभिने हैनन्। तर यो समुदायका सबै सदस्य यसरी नै सडकमा उभिन्छन् त? यो समाजमा सुनिलबाबु पन्त जस्ता सदस्य पनि छन् जो सांसद बनेर सांसदसम्म पुगेका थिए।
समाजमा संघर्ष गरेर आफ्नो अलग पहिचान बनाएका सदस्यहरू छैनन् र। तर फिल्म निर्माता अनि निर्देशकसँगै लेखकहरूले यो सकारात्मक पाटोतिर ध्यानै नदिएको बेलामा फिल्म गुन्यूचोलो प्रदर्शनको तयारीमा छ।
नाजिर हुसेनले जन्मदाको देवबहादुर थापादेखि आफ्नो यौनिक पहिचानपछिको गुलाबी हुँदासम्मको पात्रको चरित्र निभाएको यो फिल्मको पोस्टर, टिजरहुँदै ट्रेलरसम्म आइपुग्दा अहिलेसम्म नेपाली फिल्ममा यौनिक अल्पसङ्ख्यकहरूको जस्तो चरित्र चित्रण गरियो त्यो भन्दा यो विल्कुल फरक छ भन्ने देखाएको छ।
लाहुरे परिवारमा जन्मिएको देवबहादुरको बाबु उनलाई आफू जस्तै लाहुरे बनाउने सपना देख्छ। तर देवबहादुर पुरुषको शरीर बोकेर पनि उ भित्रको मन भने महिला हुन्छ। उसलाई महिला हैन पुरुष मन पर्छ। उसलाई दिदी-बहिनी झैँ सिँगारिन मन पर्छ।
परिवारमा संघर्ष त्यहीबाट सुरु हुन्छ। अनि उनी लाग्छन् शहरतिर। शहरमा देवबहादुरबाट गुलाबीको परिचय बनाउन उनले गरेको संघर्षको वरिपरि नै फिल्मको मूल कथा घुमेको फिल्मको ट्रेलरले देखाउँछ।
यो एक पात्रमार्फत समुदायको कथा भन्ने प्रयास गरेको फिल्म हो भन्ने ट्रेलरबाट प्रष्ट हुन्छ। त्यसमा पात्र केन्द्रित नाम नै प्राय प्रयोग हुन्छ। यो फिल्मको प्रारम्भमा नाम 'गुलाबी' राखिएको थियो। तर पछि गएर बदल्दै गुन्यूचोलो राखियो। यो नाम बदल्नुको कारण चैं अलि बुझिएन। 'गुन्युचोलो' भन्दा त गुलाबी नै क्याची नाम हैन र!
यो फिल्मको सकारात्मक पक्ष समाजमा रहेका यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्षलाई मूल कथाको रूपमा देखाउने प्रयास रहेको देखिन्छ। त्यसमा नाजिर हुसेनले जस्तो पात्रको प्रतिनिधित्व गरेका छन् त्यसलाई न्याय दिएर अभिनय गरेको प्रचार सामग्रीहरूमा देखिन्छ।
गीत होस् या ट्रेलर, जहाँ जहाँ नाजिर देखिएका छन् उनको अभिनय निकै प्राकृतिक लाग्छ। तर नेपाली फिल्महरूको विडम्बना प्रचार सामाग्रीमा सुन देखिएको उत्पादन हलमा भने घुनको रूपमा देखिन्छ। तर गुन्युचोलोको ट्रेलरको कटिङ जुन स्तरको छ, सार्वजनिक भएका नाजिरको लुक्स र अभिनयले फिल्ममा पनि निरन्तरता पाएको हो भने यो फिल्म ‘उत्कृष्ट’ सूचीमा पर्ने संकेत देखिन्छ।
अब दर्शकले यसलाई कुन रूपमा हेर्छन्, व्यापार कस्तो गर्ला त्यो त निर्माण टिमको रणनीति, फिल्म रिलिज भएपछि दर्शकबाट आउने प्रतिक्रिया अनि माउथ पब्लिसिटीमै भर पर्ने भयो। ट्रेलरसम्म आइपुग्दा फिल्मले सकारात्मक संकेत दिएको भन्न भने हिच्किचाउनु पर्दैन।
साउन १९, २०८२ सोमबार १८:२७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।