प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ।
प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो। यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको कम्पनीले जनाएको छ।
यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो। प्रिज्मा एड्भरटाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए।
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवाड्र्सले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मान गर्ने गर्छ।
अन्तर्राष्ट्रियस्तरको मनोनयनहरूको प्रतिस्पर्धात्मक क्षेत्रबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव र नवीन रचनात्मक रणनीतिका लागि विशिष्ट पहिचान बनाएको छ।
‘ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो।हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन्।यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेकोे छ,’ कार्यक्रममा प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भने।
प्रिज्मा एड्भर्टाइजिङ ब्रान्डलरेट अवाड्र्सबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो।
कम्पनीका प्रबन्धक शरद शाहीले विश्वस्तरका उत्कृष्ट ब्रान्डहरूबीच उभिन पाउनु प्रिज्माका लागि मात्र नभएर नेपालकै लागि गर्वको क्षण भएको बताए। यो सम्मानले दक्षिण एसियामा प्रिज्मा एड्भर्टाइजिङको सिर्जनात्मक नेतृत्वको स्थानलाई थप बलियो बनाएको शाहीको दाबी छ।
सन् १९९१ मा स्थापित, प्रिज्मा एड्भर्टाइजिङ एक रचनात्मक एजेन्सी हो। जसले ब्रान्डिङ, डिजाइन, डिजिटल मार्केटिङ र जनसम्पर्कमा विशेषज्ञता हासिल गरेको छ। यो एजेन्सीले प्रेरणादायी, आकर्षक र परिणाममुखी ब्रान्डका कथाहरू निर्माण गर्ने गर्छ।
साउन १९, २०८२ सोमबार १७:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।