देउवाको निर्देशन पछि बागमतीका मुख्यमन्त्री लामाले स्वकीय सचिव मार्फत पठाए राजीनामा

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।
प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए। “मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेरित हाम्रो कार्यालयमा आइपुग्यो”, प्रवक्ता सापकोटाले भने, “प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उपचार गराइ हेटौँडास्थित कार्यालय फर्किसक्नुभएको छ, अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू हुन्छ।”
सम्भवतः आजै प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू गर्ने सम्भावना रहेको उनले भनाइ छ। मुख्यमन्त्री लामा पत्रकार सम्मेलन लगतै आइतबार साँझा राजीनामा बुझाउन हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका थिए। त्यसपछि उनी राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ काठमाडौं हिँडे।
यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पनि राजीनामा दिने मुडमा नरहेका लामा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन पछि मात्र राजीनामा दिन तयार भएका थिए। उनले राजनीनमाका लागि देउवासँग केही सर्त राखेका थिए। उनको सर्तमा उनी निकटका नेताहरूको व्यवस्थापन गर्नु रहेको एक कांग्रेस नेताले बताए। मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ।
साउन १९, २०८२ सोमबार १४:३५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।