रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी : ‘गोयबल्स शैली’ बन्द नगरे प्रतिवादमा उत्रन्छौँ

रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी : ‘गोयबल्स शैली’ बन्द नगरे प्रतिवादमा उत्रन्छौँ

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय गतिविधिप्रति आपत्ति जनाउँदै उनीहरूको शैलीलाई ‘गोयबल्स प्रचार’ को संज्ञा दिएको छ।

प्रतिनिधि सभामा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखिको संसदीय अवरोध र बहिस्कारप्रति आक्रोश व्यक्त गरे।

‘कति दिनसम्म यो चल्ने हो? संसदमा उभिएर सधैँ गाली गर्ने?,’ उनले प्रश्न गरे, ‘भिजिट भिसाको नाममा मानव तस्करी भयो भन्ने? के भिजिट भिसामा विदेश जाने सबै मानव तस्कर हुन्? यहाँ कुन सांसद भिजिट भिसामा बाहिर गएको छैन?’

घिमिरेले झुटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदको दुरुपयोग गर्ने काम तत्काल बन्द हुनुपर्ने बताए।

उनले रास्वपा र राप्रपाको गतिविधिले संसदको गरिमामाथि प्रहार गरेको आरोप लगाउँदै चेतावनीको शैलीमा भने, ‘अब यस्तै गालीगलौज जारी रहे हामी पनि प्रतिवादमा उत्रिन बाध्य हुनेछौँ।’

के हो गोयबल्स शैली?
‘गोयबल्स शैली’ नाजी जर्मनीका प्रचार मन्त्री जोसेफ गोयबल्सको नामबाट आएको एक राजनीतिक प्रचार विधि हो। यसको मूल सिद्धान्त भनेको कुनै ठूलो झुटलाई यति धेरै पटक र यति सशक्त रूपमा दोहोऱ्याउनु हो कि आम मानिसले त्यसलाई नै सत्य मान्न थाल्छन्।

यो शैलीले तर्कभन्दा पनि मानिसको भावना, डर र घृणालाई लक्षित गरी कुनै एक व्यक्ति वा समूहलाई सबै समस्याको दोषी देखाएर जनतालाई भ्रमित पार्छ। संक्षेपमा, 'गोयबल्स शैली' भन्नु भनेको सत्यलाई बंग्याएर, संगठित रुपमा झुटो प्रचार गरी आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने षड्यन्त्रकारी तरिकालाई जनाउनु हो।

साउन १९, २०८२ सोमबार १४:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।