चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा चार हात्तीले जन्माए छावा

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन्। विसं २०८१ चैत यता ती हात्तीले छावा जन्माएका हुन्।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार विसं २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, विसं २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमानकलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन्।
निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन्। हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ। खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए। चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उनले बताए।
अहिले खोरसोरमा रहेका छ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी रहेका छन्। अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन्। हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ। छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ।
प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोष्टमा पठाउने गरिन्छ।
साउन १९, २०८२ सोमबार १४:१९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।