प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राप्रपाको आपत्ति, सभामुखलाई भन्यो- ‘निष्पक्ष भएर आँट गर्नुहोस्’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘संविधान र व्यवस्था विरोधी’ भनेकोमा गम्भीर आपत्ति जनाएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले सदन अवरोध गर्नु रहर नभई ‘भिजिट भिसा प्रकरण’ मा निष्पक्ष छानबिनको माग रहेको स्पष्ट पारे।
‘स्वार्थ बाझिने समितिले गर्ने छानबिनमा हाम्रो विश्वास छैन, त्यसैले हामीले संसदीय वा न्यायिक समिति गठनको माग उठाएका हौं’, उनले भने।
सांसद प्रधानले समस्या समाधानका लागि सभामुखले निष्पक्ष र साहसिक भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सभामुखज्यूले सरकारको पक्षमा मात्र सोच्नुभएन। हामीले जनताको आवाज उठाएपछि त्यसको समाधान खोज्ने दायित्व र क्षमता दुवै सभामुखसँग छ।’
आफूहरू पनि जनताबाटै चुनिएका प्रतिनिधि भएको स्मरण गराउँदै उनले माग सम्बोधन भए सदन सञ्चालनमा पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
साउन १९, २०८२ सोमबार १४:१०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।