फिल्मपछि प्रकाश सपुतलाई संगीतमा पनि धक्का, ‘नाइँ भनेसी नाइँ’लाई दर्शक तान्नै सकस

फिल्मपछि प्रकाश सपुतलाई संगीतमा पनि धक्का, ‘नाइँ भनेसी नाइँ’लाई दर्शक तान्नै सकस

काठमाडौं : आफ्ना हरेक गीतबाट युट्युबमा तहल्का मच्चाउँदै आएका गायक तथा सर्जक प्रकाश सपुतको पछिल्लो गीतले भने अपेक्षित दर्शक पाउन सकेको छैन।

सामाजिक कथालाई मार्मिक रूपमा प्रस्तुत गर्ने खुबीका कारण चिनिएका सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ (बदला बरिलै-२) ले पुराना सिर्जनाको जस्तो उत्साहजनक सुरुवात गर्न सकेको छैन।

गत शुक्रबार सार्वजनिक भएको यो गीतले सोमबारसम्म करिब साढे चार लाख भ्युज मात्र पाएको छ। यो आँकडा सपुतकै अघिल्ला गीतहरूको तुलनामा निकै निराशाजनक हो।

यसअघि उनको गीत ‘सकम्बरी’ ले सार्वजनिक भएको एक सातामै करोड क्लबमा प्रवेश गरेको थियो भने ‘पीर’ ले पनि आठ दिनमै एक करोड भ्युज कटाएर रेकर्ड बनाएको थियो।

त्यसैगरी, ‘दमाई महाराज’ लाई पनि दश दिनमा ६६ लाखभन्दा बढी पटक हेरिएको थियो। यी गीतहरूको तुलनामा ‘नाइँ भनेसी नाइँ’ को प्रारम्भिक गति अत्यन्त सुस्त देखिन्छ।

गीतसंगीतमा सफलतापछि फिल्म क्षेत्रमा प्रवेश गरेका सपुतले ‘परदेशी २’ बाट डेब्यु गरे पनि उनले लेखन तथा निर्देशन गरेको फिल्म ‘वसन्त’ व्यावसायिक रूपमा असफल भयो।

त्यसअघि फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सफल भए पनि त्यसको अधिकांश श्रेय अभिनेता विजय बरालले पाए, जसमा सपुत ओझेलमा परे। हुन त सुरूवाती दिनमा उनी प्रचारमा समेत देखिएका थिएनन्। पछि फिल्ममा दर्शक ओ‌हिरिएपछि मात्र उनी हलमा पुगेका हुन्।

‘नाइँ भनेसी नाइँ’ लाई सफल बनाउन कुनै कसर बाँकी राखिएको थिएन। गीतमा पछिल्लो समयकी चर्चित गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको स्वर छ भने भिडियोमा सुपरस्टार अभिनेत्री रेखा थापाले अभिनय गरेकी छन्।

महिलामाथि हुने हिंसाविरुद्धको सशक्त कथा बोकेको र रेखा थापाजस्तो ब्रान्डको उपस्थितिका बाबजुद पनि गीतले दर्शकलाई आकर्षित गर्न सकेन।

साउन १९, २०८२ सोमबार १४:०५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।